Comments Add Comment

थाइल्याण्डमा प्रतिबन्धका बीच आन्दोलन जारी, राजीनामा नदिने प्रधानमन्त्रीको अडान

३० असोज, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रायुथ चाङ–ओचाले पदबाट राजीनामा नदिने बताएका छन् । मुलुकमा लगाइएको आपतकाल अवज्ञा गर्दै हजारौं मानिसहरु सडकमा ओर्लिए पनि प्रधानमन्त्रीले आफूपछि नहट्ने बताएका हुन् । बिहीबार थाइल्याण्डले आपतकालको घोषणा गर्दै पाँच जनाभन्दा धेरै मानिसको भेलामा रोक लगाउने निर्णय गरेको थियो । मुलुकमा तीन महिनादेखि जारी रहेको आन्दोलन नियन्त्रणका लागि भन्दै थाइल्याण्डको सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो ।

थाइल्याण्डमा राजाको अधिकार कटौती तथा प्रधानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ । बिहीबार आपतकाल घोषणा गर्दै मानिसहरुको भेलामा प्रतिबन्ध लगाइएको भए पनि साँझपख राजधानी बैंककमा ठूलो प्रदर्शन भएको थियो । आपतकालीन मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री प्रायुथले आफूले राजीनामा नदिने र पछिल्लो समय आन्दोलन हिंसात्मक बन्दै गएकाले आपतकाल लगाउँदै त्यस्तो गतिविधिमा संलग्नहरुलाई हिरासतमा लिइनु जरुरी रहेको बताए । आपतकाल घोषणासँगै प्रहरीले मुद्दा दायर नगरी ३० दिनसम्म प्रदर्शनकारीलाई हिरासतमा लिने अनुमति पाउँछ ।

प्रायुथले सबैलाई नियमको पालना गर्न आग्रह गरेका छन् । ‘तपाईंहरुले गलत काम गर्नुहुन्छ भने हामीले कानुनको प्रयोग गछौँ’, उनले भने । सन् २०१४ मा शक्तिमा आएका प्रधानमन्त्रीमाथि गत वर्ष भएको निर्वाचनमा धाँधली गरी जितेको आरोप छ । यद्यपि प्रायुथले भने गत वर्षको निर्वाचन स्वच्छरुपमा सम्पन्न भएको दाबी गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस थाइल्याण्डमा आपतकाल घोषणा, प्रदर्शनमा उत्रिएका नेताहरु पक्राउ

आन्दोलनकारीहरुले सैन्य शासनमा आएको संविधानको प्रारुपलाई विस्थापित गर्दै नयाँ संविधान निर्माण गरिनुपर्ने माग गर्दै आएका छन् । यद्यपि बिहीबारको प्रदर्शन निकै शान्तिपूर्ण देखिएको थियो । गत साता थाइल्याण्डमा ४० भन्दा धेरै आन्दोलनकारीहरु पक्राउ परेका थिए भने शुक्रबार हुन गइसकेको आन्दोलनमा थप मानिसहरु पक्राउ गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment