Comments Add Comment

कविता : धन्य भगवान् !

एकाबिहानै, निद्राबाट ब्युँझाएर

आमाले भन्नु’भो

बाबु उठ्, भगवानको पूजा गर ।

तर खै ! म नदेखिने भगवान्को

पूजा के गरौं !

यहाँ हजारौं भगवान्

सडकमा छट्पटाइरहेछन्

भोक, शोक र रोगले

तिनको दयनीय स्थिति हेर्दै भगवान

म तँलाई महल र मन्दिरको

उच्चाशनमा सजाएर के चढाऊँ

नित्सेले भनेझै तँ मरेकै होस्–

मलाई लाग्छ

नत्र दुःखीका कुरा नसुनी

किन निर्दयी बनेर चुप बस्थिस्

भो, म तेरा लागि

अबोध प्राणी अर्पण गर्दिनँ

सुन्दर घुम्टो ओढाएर

पुष्प गुञ्छा चढाउँदिन

मेरा सफलता र सुखका निम्ति

तँलाई घुस खुवाउँदिन

थाहा छ,

मलाई अन्योलमा बाँच्नझैं

तँलाई पनि धेरै गाह्रो छ भगवान बन्न

दुःखी देख्छु तँलाई आजकल

किनकि, तँ भन्न सक्दैनस्

तिम्रा सफलताका निम्ति मलाई नपुकार

रगतले नपोत, नधोऊ भनेर

पीडामा सम्झन्छन्

पोख्छन् दुःख र पीडाहरू

तँ स्थिर मूर्ति वा चित्र

टुलुटुलु हेरिरहन्छस्

अनि सुनिरहन्छस् कहिलेसम्म ?

अब भनिदे–

जनका मन रुवाएर मेरा पछि नलाग

धर्मको अपव्याख्या गरी पण्डित्याइँ नगर

नबस् लाइन लागेर प्रतीक्षामा

अनन्त र अमूर्त मेरानिम्ति

त्यो समय बरु कर्म गर

आत्मविश्वासका साथ

चेतना दे मान्छेलाई

मान्छेका रूपमा हेर्न सिका

प्राणी जगतको कल्याण गर्ने विवेक दे

भगवान्,

तँ बल्ल धन्य हुनेछस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment