+
+
Shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षका लागि सुवेदी र उप्रेती प्रतिस्पर्धामा

Bishal Sapkota Bishal Sapkota
२०८३ असार २२ गते १६:५६

कोलोराडो । विदेशमा रहेका नेपाली श्रष्टा तथा साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । आउँदो जुलाई ७ देखि ९ सम्म हुने चुनावमा अध्यक्षका लागि सुरेन उप्रेती र लालगोपाल सुवेदी प्रतिस्पर्धामा छन् ।

डा. चुडामणि खनाल नेतृत्वको निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अनेसासको १७ सदस्यीय कार्यसमितिका लागि २२ जनाको उम्मेदवारी परेको छ । जसमा अध्यक्षका लागि क्यानडा बस्ने सुरेन उप्रेती र अमेरिका बस्ने लालगोपाल सुवेदीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सुवेदी अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । चुनाव नजिकै आउँदा दुवै जना अध्यक्षका उम्मेदवारले आफूलाई जिताउन आजीवन सदस्यसँग तीव्र लबिङ गरिरहेका छन् ।

पदाधिकारीमा अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा चर्को प्रतिस्पर्धा छ । तीन जना क्षेत्रीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा एसिया क्षेत्रका लागि जापानका दिनेशराज ज्ञवाली, ओसियानिया क्षेत्रका लागि अष्ट्रेलियाका डा.प्रकाश पौडेल र युरोप क्षेत्रका लागि बेलायतका राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष अफ्रिका क्षेत्रका लागि उम्मेदवारी नै परेन ।

सचिवमा नेपालबाट रिषभदेव घिमिरे र कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल निर्विरोध निर्वाचित भएको अनेसास निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि तारा अधिकारी र सुदीपभद्र खनालको प्रतिस्पर्धा छ । अमेरिका कोलोराडो निवासी अधिकारी वर्तमान कार्यसमितिका कोषाध्यक्ष हुन् भने खनाल अमेरिका क्षेत्रबाट उपाध्यक्ष छन् ।

अमेरिका क्षेत्रको उपाध्यक्षका लागि शकुन ज्ञवाली, गीता बजगाईं र अग्नि पराजुलीको प्रतिस्पर्धा छ । यस्तै महासचिवका लागि राजु सिटौला र सहदेव कोइराला चुनावी मैदानमा छन् ।

वर्तमान कार्यसमितिका महासचिव रहेका कोलोराडो निवासी सिटौला दोहोरिन चाहेका छन् भने कोइराला नयाँ नेतृत्वका लागि महासचिवको दौडमा उभिएका छन् ।

अनेसासको नवौँ साहित्य सम्मेलन कोलोराडोमा भव्य रुपमा सम्पन्न गर्दा महासचिव रहेका सिटौला र कोषाध्यक्ष रहेका तारा अधिकारीले कुशल व्यवस्थापकीय कौशल देखाउँदै नयाँ नेतृत्वमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

यस्तै ७ जना सदस्यका लागि आठ जनाको उम्मेदवारी परेको छ । जसमा अमेरिकाबाट डा.कृष्ण शाह यात्री, हरिमाया अधिकारी, महेश्वर पन्त, मीरा कोइराला, निलकण्ठ सुवेदी र पिपलमणि सिग्देल छन् । यस्तै भारतबाट डा.पारसमणि दंगाल र नेपालबाट राजेन्द्र केसी पनि कार्यसमिति सदस्य बन्ने दौडमा छन् ।

तीन दिनसम्म हुने अनलाइन भोटिङबाट अनेसासको २०२६–२०२८ नयाँ कार्यसमिति चयन हुनेछ । चुनावका लागि अनेसासका विविध च्याप्टरमार्फत सदस्यता प्रमाणित भएका आजीवन सदस्यले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

संसारभर फैलिएका नेपालीहरूको रचनात्मक र साहित्यिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्धेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?