२२ असार, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो ।
आधारभूत अस्पतालको आज एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले औपचारिक रूपमासेवा शुभारम्भ गरे ।
अस्पताल सञ्चालनमा आएसँगै छत्रकोट गाउँपालिका तथा आसपासका बासिन्दाले सामान्य उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता क्रमश: कम हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले अस्पताल सञ्चालनपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रयोगशाला सेवा, नियमित ओपीडी लगायतका आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित रूपमा उपलब्ध हुने जानकारी दिए ।
उनले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थालाई नागरिकको पहिलो रोजाइ बनाउने लक्ष्यका साथ सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम भइरहेको बताए ।
आधारभूत अस्पताल सञ्चालनको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविरको समेत आयोगना गरिएको गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले बताइन । शिविरमा स्थानीय नागरिकले सेवा लिएका छन् ।
प्रतिक्रिया 4