Comments Add Comment

प्रदेश २ मा १ हजार जना प्रहरी भर्ना गर्ने तयारी

२ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छठलगत्तै प्रहरी भर्नासम्बन्धी विज्ञापन सार्वजनिक गर्ने बताए ।

‘यसका निम्ति आइतबारको मन्त्रिपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ’ उनले भने, ‘अब सबै प्रक्रिया पूरा भइसकेकाले सिधैं भर्ना गर्नेतर्फ जान्छौं ।’

७ सयदेखि १ हजार भर्ना गर्ने तयारी

प्रदेश सरकारले पहिलो चरणमा ७ सयदेखि १ हजार प्रहरी भर्ना गर्ने तयारी गरेको छ । ‘प्रदेशमा शान्ति सुरक्षा बहाली गर्न प्रहरीको संख्या कम छ’ मन्त्री यादवले अनलाइनखबरसँग भने, ‘तत्काल २ हजारभन्दा बढी संख्यामा कमी छ, त्यसलाई पूर्ति नगरिए शान्ति सुरक्षामा कठिनाइ हुनेछ ।’

मन्त्री यादवका अनुसार ९ हजार ६ सय ५४ जना प्रहरीको दरबन्दी रहेकोमा ७ हजार ३ सय ३५ जना मात्रै कार्यरत छन् । रिक्त दरबन्दीमा पदको पूर्ति गर्नका निम्ति भर्ना आह्वान गरिने उनले बताए ।

प्रहरी जवानदेखि, हवल्दार, असई र प्रहरी निरीक्षक पदसम्म भर्ना गरिने मन्त्री यादवले जानकारी दिए ।

प्रदेश २ मा प्रहरी ऐन पारित भएको २ बर्ष बितिसकेको छ । २७ असोज २०७५ मा नै प्रदेश सभाबाट यो ऐन पारित भएसँगै प्रहरी गठनको बाटो खुलेको थियो । तर संघीय सरकारले प्रहरी समायोजनसम्बन्धी ऐन निर्माण नगर्दा लामो समयसम्म प्रदेशमा प्रहरी भर्ना हुन सकेन ।

संघीय सरकारले निर्माण गरेको प्रहरी समन्वय ऐन राष्ट्रपतिबाट २८ माघ २०७६ मा नै प्रमाणीकरण भई कार्यान्वयनमा आइसक्दा समेत प्रहरी भर्नाको बाटो नखोलेको भन्दै ९ असोजमा प्रदेश सरकारले गृहमन्त्री रामबादुर थापा ‘बादल’ लाई पत्राचार समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment