Comments Add Comment

दशैंको मुखमा स्वदेश फर्किए २० हजार नेपाली

फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । दशैंका मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार १८ पुगेको  छ । दशैंको टीकाको दिनसम्म स्वदेश फर्किने नेपालीहरुको संख्या २५ हजार नाघ्ने अनुमान छ ।

करिब एक लाख नेपाली प्रमुख श्रम गन्तब्यबाटै फर्किएका हुन् । मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्की लगायतका देशबाट फर्किने अधिकांश श्रमिकहरु नै हुन् । धेरैजसोले रोजगारी गुमाएका छन् ।

सामान्य अवस्थामा प्रमुख श्रम गन्तव्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दशैंमा घर आइपुग्न चाहन्थे । अहिले फर्किनेमा अधिकांश रोजगारी गुमाएर फर्किएका श्रमिकहरु रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव बताउँछन् ।

कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिकले दशैंमा घर विदामा आउने योजनामा बनाएनन् । त्यसमाथि नियमित उडान संख्या घटेकाले टिकट सजिलै नपाइने र नेपालमा पनि लगातार महामारी बढेकाले धेरै श्रमिकले विदेशमै दशैं मान्ने निर्णय गरेका छन् ।

लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु दशैं मान्न घर आइपुग्न पाए हुन्थ्यो भन्ने सोचमा भएपनि कतिले सस्तो टिकट पाउन सकेका छैनन् ।

सरकारले मलेसियासहित खाडीका सबै गन्तव्यमा नियमित उडान खोलिसकेको छ । दैनिक कोटा हटाएर नियमित उडान खोलेपछि अलपत्र परेका धेरै नेपाली फर्किसकेका छन् ।

नियमित उडान खुलेपछि घर फर्किन इच्छुकहरुले टिकट काटेका छन् । अहिले समस्यामा परेकाहरुलाई स्वदेश फर्किन दूतावासमा प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने अवस्था छैन ।

सरकारले भदौ १६ गतेबाट शर्तसहित नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलेको थियो । त्यतिबेलैदेखि ७२ घण्टाको पीसीआर परीक्षण गरेर आएमा सीधै घर जान पाइने नियम ल्याइएको छ ।

पीसीआर नगरेका यात्रु बोकेको विमानमा आए होटलमा ७ दिन क्वारिन्टन बसेर घरमा १४ दिन होम क्वारिन्टिन बस्नुपर्ने नियम छ ।

मलेसियामा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा रहेकाले कतिपय पहिले नेपाल फर्किन चाहेपनि अब नफर्किने निर्णय गरिसकेका छन् । भिसा थपेर बस्न चाहेमा कम्पनीले पनि सहजीकरण गरेका छन् ।

अहिले नियमित भए पनि नेपालबाट फर्किने श्रमिकहरु नभएकाले स्वदेश आउने हवाई भाडा विगतकोभन्दा महँगो तिर्नुपर्ने अवस्था भने छ । विदेशका चालु हालतका कम्पनीले सकेसम्म श्रमिकलाई भिसा थपेर बस्न प्रोत्साहन गरेका छन् ।

नेपालमा महामारी बढ्दो अवस्थामा देखिएकाले विदेशमा भिसा नसकिएका र अन्य समस्यामा नपरेकाहरु यो वर्ष दशैं लक्षित गरेर घर आउने आएको देखिँदैन ।

यात्रा सहज नहुने र विदेशबाट फर्किएकाहरुलाई समाजमा सहज रुपमा नलिइने अवस्थाका कारण पनि बाध्यात्मकबाहेकको अवस्थामा श्रमिकहरु कमै नेपाल उडिरहेको दूतावासका अधिकारीहरुको भनाइ छ ।

कोभिड–१९का कारण सबैभन्दा धेरै श्रमिक प्रभावित भएको मुलुक यूएई हो । यूएईमा करिब ५० हजार नेपाली स्वदेश फर्किन चाहनेको सूचीमा थिए । त्यसमध्ये १५ हजार नेपाली चार्टर्ड उडानबाट फर्किए । आइतबारसम्म त्यहाँबाट ३२ हजार ७९० सयभन्दा बढी नेपाली फर्किएका छन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई र एयर अरेबियाले त्यहाँबाट नियमित उडान भरिरहेका छन् ।

यूएईस्थित दूतावासकी राजदूत रिता धिताल नियमित उडान सुरु भएपछि दशैंमा फर्किने श्रमिकलाई समस्या नरहेको बताउँछिन् । तर, नियमित उडानको टिकट अझै पनि विगतको तुलनामा महँगो भने छ । टिकट नपाएर अलपत्र परेर बस्नुपर्ने अवस्था अहिले यूएईमा छैन ।

मलेसियाबाट अहिले हप्तामा २३ वटा नियमित उडान भइरहेको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार समस्या भोगेर बसेका श्रमिकहरु  नियमित उडानबाट फर्किने क्रम जारी छ ।

अहिले मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मालिन्दो एयरलाइन्स र मलेसियन एयरले नियमित उडान भरिरहेका छन् । ‘नियमित उडान नखुल्दासम्म नाम टिपाउनुभएका करिब ९ हजार व्यक्ति फर्किन बाँकी हुनुहुन्थ्यो, अहिलेसम्म उहाँहरुमध्ये धेरै नेपाल पुगिसक्नुभयो,’ पाण्डेले भने । राजदूत पाण्डेका अनुसार मलेसियाबाट आइतबारसम्म १६ हजार २८४ नेपाली फर्किएका छन् ।

मलेसियामा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा रहेकाले कतिपय पहिले नेपाल फर्किन चाहेपनि अब नफर्किने निर्णय गरिसकेका छन् । भिसा थपेर बस्न चाहेमा कम्पनीले पनि सहजीकरण गरेका छन् ।

कतारबाट चार्टर्ड उडान भइन्जेल करिब १० हजार नेपाली फर्किए । आइतबारसम्म त्यहाँबाट २० हजार २५७ जना श्रमिक नेपाल आएका छन् ।

कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान नियमित गरेका छन् । कतारबाट फर्किन सहज अवस्था बनेको राजदूत डा. नारदनाथ भारद्वाज बताउँछन् । आफूलाई पायक पर्ने उडान श्रमिकले नै रोज्दै फर्किरहेका छन् ।

यदि कोही श्रमिक टिकट काट्न नसकेर अलपत्र पर्ने अवस्था आएर नेपाली दूतावास, गैह्रआवासीय नेपाली संघ र त्यहाँका विभिन्न सामाजिक संघसंस्थाले बनाएको कोषको रकम उपयोग गरेर निःशुल्क फर्काइने भारद्वाजले बताए ।

सरकारले ल्याएको निःशुल्क उद्धारको निर्देशिकाको मापदण्डमा पर्नेलाई त्यसबाटै सेवा दिने सकिने उनको भनाइ छ । कतार सरकारले कोही विदेशी श्रमिक कामविहीन भए अर्को कम्पनीमा जान दिने नीति ल्याएकाले त्यसबाट नेपालीले पनि लाभ उठाउन सक्ने दूतावासले जनाएको छ ।

यसले गर्दा कतारमा कामविहीन भएका नेपालीहरु पनि अन्य कम्पनीमा जोडिन थालेको र यही बेला नियमित उडान खुलेकाले अवस्था सामान्य हुन थाल्ने राजदूत भारद्वाजको अनुमान छ ।

साउदी अरेबियाबाट चार्टर्डमार्फत १२ हजार नेपाली फर्किएका थिए । अहिलेसम्म फर्किनेको संख्या १६ हजार ६५१ पुगेको छ ।

साउदीबाट अझै १० हजार नेपाली फर्किनसक्ने अनुमान छ । केही श्रमिक त्यहाँ अवस्था सामान्य हुँदै गएकाले अब तत्कालै नफर्किने मानसिकतामा पुगेका छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत श्रमिकहरु आफैंले उपयुक्त दिनमा टिकट काटेर फर्किन सक्ने बनेकाले अवस्था समान्यीकरणतर्फ अघि बढेको बताउँछन् । त्यहाँ हिमालय एयरलाइन्सबाट सीमित उडान हुँदा अन्यत्रभन्दा अली बढी समस्या छ ।

त्यहाँबाट हिमालय एयरलाइन्सले मात्रै नेपालमा नियमित सीधा उडान भर्छ । हिमालय एयरलाइन्सलाई उडान संख्या बढाइदिन दूतावासले पहल गरिरहेको छ ।

कुवेतबाट चार्टर्ड उडानमार्फत करिब ६ हजार नेपाली फर्किएका थिए । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी जजिरा एयरलाइन्सले कुवेतबाट नियमित उडान थालेपछि अलपत्र श्रमिकसम्बन्धी समस्यासमान्यतर्फ उन्मुख भएको बताउँछन् ।

महामारी अघिसम्म कुवेतबाट सीधै नेपालमा उडान हुँदैनथ्यो । तर, कुवेतमा अलपत्र करिब ३ हजार नेपालीलाई त्यहाँको सरकारको खर्चमा चार्टर्ड गरेर नेपाल ल्याएपछि जजिरा एयरले हप्तामा ४ वटा नियमित उडान गर्ने गरी अनुमति पाएको छ ।

राजदूत भण्डारीका अनुसार नियमित उडान नखुल्दासम्म कुवेतमा नेपाल फर्किन नाम टिपाएकाहरुमध्ये करिब २ हजार जना मात्रै फर्किन बाँकी थियो । कुवेतबाट फर्किनका लागि करिब १० हजारले दूतावासमा नाम टिपाएकोमा ६ हजारभन्दा बढी श्रमिकलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएको थियो । त्यहाँबाट आइतबारसम्म ९ हजार ७८२ नेपाली फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment