Comments Add Comment

खाद्य कम्पनीले थप एक हजार खसीबोका किन्ने

४ कात्तिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

‘खाद्यबाट खसीबोका किन्न उपभोक्ताले निकै रुची देखाउनु भयो, हरेक दिन हारालुछ जस्तै भएपछि एक हजार थप खसीबोका खरिद गर्ने निर्णय गरियो,’ सुवेदीले भनिन् ।

सोमबारदेखि बिक्री सुरु गर्दा दोस्रो दिनसम्म ७ सय वटा खसी बोका बिक्री भएको कम्पनीले जनाएको छ । सोमबार ५४० र मंगलबार १६० वटा खसीबोका बिक्री भएको सुवेदीले बताइन् । पहिलो लटमा ल्याउने निर्णय भएको एक हजारमध्ये मंगलबार बेलुकीसम्म बाँकी खसी बोका आइपुग्नेछ ।

निजी क्षेत्रका व्यापारीले भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका प्रतिकिलो एक सय रुपैयाँ सस्तोमा बिक्री गरेको छ । प्रतिकिलो ५६० रुपैयाँ मूल्य तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खाद्यले ५५० रुपैयाँमा खसीबोका बिक्री गरिरहेको छ ।

यसवर्ष कम्पनीले झण्डै ६ करोड रुपैयाँको तीन हजार खसी बोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको थियो । तर च्याङ्ग्राको भाउ अचाक्ली महँगो भएको तथा कोभिड–१९ महामारीका कारण बिक्री कम हुन सक्ने आँकलनमा सुरुमा एक हजार मात्रै खसी बोका खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment