२ मंसिर, कास्की । कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँचवटा दुहुना छन् ।
क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घिउ उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घिउ उत्पादन हुने उनले बताए । उत्पादित घिउ प्रतिलिटर एक हजार ५०० रुपैयाँमा बिक्री हुन्छ ।
उनले उत्पादन गरेको घिउ सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई पनि बिक्री गर्छन् । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।
भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उन बताउँछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने ।
घिउ उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य एक लाख रुपैयाँसम्म पर्ने उनले बताए । घिउ र भैँसीको बिक्रीबाट घरखर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँ बचत हुने गरेको उनको भनाइ छ ।
भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उन बताउँछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन् । छोरी अहिले जापानमा छिन् भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
प्रतिक्रिया 4