Comments Add Comment

के दशैंमा ‘छक्का पन्जा’को सिरिज मिस गर्नुहुन्छ ?

विगत ५ बर्षदेखि कलाकार दिपकराज गिरी र उनको टिमले घरमै बसेर परिवारसँग कुनै दबाबविना दशैं मनाउन पाएको थिएन । तर, यसपटक भने दिपक र उनको टिमले पूर्ण समय परिवारलाई दिन पाएका छन् । विगत ५ बर्षदेखि दिपक र उनको टिमले बनाएको चलचित्र दशैं र यसको सेरोफेरोमै रिलिज भयो ।

दशैंको समयमा प्रचार, हल मिलाउने राजनीति, चलचित्रको काम, चलचित्र रिलिजपछि हरेक दिन हलको दौडधुप । यसरी नै वित्यो ५ बर्षको समय । तर, यसबर्ष दशैंमा दिपकराजको नयाँ चलचित्र रिलिज भएन । हल बन्द भएकाले पनि यसबर्षको दशैंमा हलसम्मै पुगेर चलचित्र हेर्न दर्शकले पाउने छैनन् ।

तर, सामाजिक संजालमा दशैंमा ‘छक्का पन्जा’को सिरिज रिलिज नहुँदा केही कुरा मिस भएको भन्ने खालका तर्कहरु देखिने गरेका छन् । दिपकराज भन्छन्–‘हामीले पनि दशैं भनेकी ‘छक्का पन्जा’ भनेर बसेको केही बर्ष भयो । ५ बर्षदेखि एउटै दिनचर्या भएकाले पनि मिस नहुने त कुरै हुँदैन ।’

तर, दिपक कोरोनाले नाम र दाम क्षणिक भएको र परिवार नै सवथोक भएको पाठ मानिसलाई सिकाएको बताउँछन् । दिपकले अनलाइनखबरसँग भने–‘एउटा कुरा के हो भने, हलको आनन्द घरले दिदैन, घरको आनन्द हलले दिदैन । तर, हामी भौतिकवादी भैसकेका थियौं । पैसा कमाउने धुनमा दशैं मनाइदिनुपर्छ भनेर मनाइरहेका थियौं । परिवारलाई समय दिनुपर्छ भनेर दिइरहेका थियौं । परिवार र घरसँगको सम्बन्ध निकै कमजोर भैसकेको थियो । पैसा थुपार्ने प्रतिस्पर्धामा परिवार जसरी विखण्डित भैरहेको थियो, त्यो आफैमा डरलाग्दो कुरा थियो ।’

दिपकले अगाडि भने–‘मैले हल मिस गरेपनि यतिबेला कुनै दबाबविना परिवारसँग दशैं मनाउन पाइरहेको छु । हरेक बर्ष सेड्यूल नै जस्तो बनाएर दशैंमा हाम्रै चलचित्र आउनुपर्छ भन्ने पनि छैन । सायद, कोरोना कारण २–३ बर्ष हाम्रो चलचित्र आउँदैन होला । यसले कमसेकम हामीले स्क्रिप्ट बलियो बनाउन पाएका छौ ।’

अर्को बर्षको दशैंमा चलचित्र आउँछ नै भन्न नसकिने दिपकको भनाई छ । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक ग्रस कलेक्शन गरेका ‘छक्का पन्जा’का ३ सिरिज दशैंकै वरिपरी रिलिज भएका थिए । यसैले, दिपकराज र उनको टिमको चलचित्रलाई दर्शकले मात्र होइन प्रदर्शक र चलचित्रकर्मीले पनि मिस गर्छन् ।

अर्को बर्षको दशैंमा पनि चलचित्र आउने कुरालाई दिपकले नकारेका छन् । उनले भने–‘मेरो यो दशैंमा चलचित्र आएन त के भयो ? अर्कोपछि पनि दशैंमा मैले चलचित्र ल्याउनैपर्छ भन्ने दबाबमा काम गरेको छैन । अहिले चलचित्रको काम सुरु गर्नु भनेको ताप्के नतात्नु, विड तात्नु भने जस्तै हो । कोभिडको भ्याक्सिन नआएसम्म मानिसको मानसिक त्रास सकिदैन । यस्तो अवस्थामा मानिस मनोरञ्जन गर्न सक्दैन । यसैले, हतारिने पक्षमा म छैन ।’

दिपकले यो समयमा आफ्नो जागिर, व्यवसाय गुमाएका मानिसहरुलाई नआतिन सुझाव दिए । उनले भने–‘यो समयमा धेरैले धेरै कुरा गुमाएका छन् । तर, समयले हामीलाई धेरै कुरा सिकाएको पनि छ । यसैले, आतिहाल्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment