
कोरोना भाइरसको महामारी चलिरहेको समयमा कमेडियन कपिल शर्माले आफ्नो चर्चित कमेडी रियालिटी शो ‘दि कपिल शर्मा शो’को छायांकन भने अगाडि बढाइरहेका छन् । दर्शकको उपस्थितीविना नै यो शोको छायांकन भैरहेको छ ।
केही हप्ता अगाडि यो शोमा महाभारतका कलाकारहरु अतिथी बनेर पुगेका थिए । यो शोमा पुनित इस्सर, नीतिश भारद्धाज, गजेन्द्र चौहान लगायतका कलाकार पुगेका थिए । यो शोले दर्शकको राम्रो प्रतिक्रिया पनि पाएको थियो ।
तर, यो शोमा महाभारतका अर्का कलाकार मुकेश खन्ना भने उपस्थित भएनन् । उनले, शोको टिमले गरेको निमन्त्रणालाई अस्विकार गर्दै यो शोलाई भल्गर र खराब भनेका थिए ।
उनले, यो शोमा दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग धेरै हुने भन्दै सहभागी नहुने बताएका थिए । मुकेशको यो भनाइलाई लिएर शोका संचालक कपिल शर्माले जवाफ दिएका छन् ।
कपिलले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मेरो टिम यो महामारीको समयमा मानिसहरुको अनुहारमा मुस्कान ल्याउनका लागि कडा मिहिनेत गरिरहेको छ । जब पुरै दुनियाँ मुश्किल समय बिताइरहेको छ भने उनीहरुको अनुहारमा मुस्कान ल्याउन जरुरी छ ।’
मुकेशको भनाइमा टिप्पणी गर्दै कपिलले भने–‘यो मानिसहरुको सोचमा भर पर्छ । कुन कुरामा खुशी खोज्ने भन्ने कुरा मानिसले नै जान्ने कुरा हो । मैले खुशीलाई रोजेँ र आफ्नो काममा नै फोकस हुन आवश्यक ठाने । र भविष्यमा पनि म यो काम गरिरहनेछु ।’
प्रतिक्रिया 4