Comments Add Comment

परीक्षण बढ्यो, त्यसैले ५७४३ जनामा संक्रमण देखियो

५ कात्तिक, काठमाडौं । असोज २४ गते एकैदिन ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । नेपालमा कोरोना संक्रमण सुरु भएयता यो एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या थियो ।

असोज २५ गते नेपालमा २ हजार ७१ जनामा संक्रमण देखिएको थियो, २६ गते ४ हजार ४७ पुग्यो, २७ गते ३ हजार ५५६ र २८ गते २ हजार ६३८ मा झ¥यो । कात्तिक ४ गतेसम्म कुनै पनि दिन नयाँ संक्रमितको संख्या ५ हजार नजिक पुगेको थिएन।

तर ५ कात्तिकमा संक्रमितको संख्या झण्डै ६ हजारनजिक पुग्यो । पछिल्लो तीन साता (१८ भदौदेखि ५ कात्तिकसम्म) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक घोषणा गरेको संक्रमितको संख्या हेर्दा लाग्छ, संक्रमण निरन्तर बढेको छैन ।

तर दैनिक परीक्षण गरिएको नमुना र संक्रमितको संख्यालाई एकै ठाउँमा राखेर हेर्दा थाहा हुन्छ,संक्रमणको अवस्थामा उचार चढाव आएको छैन ।

जुन दिन परीक्षणको संख्या घटेको छ, त्यो दिन संक्रमितको संख्या पनि घटेको देखिएको छ र जुन दिन परीक्षण नमुना बढ्छ, त्यो दिन संक्रमितको संख्या पनि बढेको छ । (हेर्नुस् सुरुको ग्राफ)

पछिल्लो २४ घण्टामा उपत्यकाका निजी प्रयोगशालामा परीक्षणको संख्या बढेको छ । स्टार अस्पतालमा २२३० नमुना, काठमाडौं मेडिकल कलेजमा १९४५ र बी एण्ड बी अस्पततालमा ९६६ नमुना परीक्षण भएको छ । बुधबार भएको २० हजार ११८ स्वाब परीक्षण गरेकामा ९ हजार १८८ नमुना निजी प्रयोगशालामा परीक्षण भएको देखिन्छ ।

सरकारी प्रयोगशालाहरुमा हुने परीक्षण पनि अरु दिनको तुलनामा केही बढेर १० हजार ९३० पुगेको छ ।

यसअघि २४ असोजमा ५००८ जनामा संक्रमण पुष्टि हुँदा सरकारी प्रयोगशालामा १० हजार ९७५ परीक्षण भएको थियो । नभए सामान्यतया सरकारी प्रयोगशालामा हुने परीक्षण ७÷८ हजार हाराहारी मात्र हो ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार संक्रमण बढिरहेको बेला भइरहेको परीक्षण निकै अपर्याप्त छ । सरकारले दैनिक २५ हजार पीसीआर टेष्ट गर्ने क्षमता छ भनेपनि त्यसअनुसार टेष्ट नहुनु गलत भएको उनीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने मापदण्डअनुसार परीक्षण भइरहेको दाबी गर्छन् ।

मापदण्डमा नपरेका व्यक्तिको पनि स्वाब संकलन गरेर परीक्षण गर्नुको कुनै अर्थ नरहेको उनको कथन छ । मन्त्रालयले पनि सम्भावित संक्रमितको मात्र परीक्षण गर्ने नीति बनाएको उनी बताउँछन् । ‘मापदण्डमा नपरेका व्यक्तिको नमुना लिई परीक्षण गराए छानबिन गरी कारबाही हुनेछ’ गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment