Comments Add Comment

कैलालीमा सवारी दुर्घटना : २ को मृत्यु, ५ घाइते 

६ कात्तिक, धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि टीकापुर लैजानेक्रममा बुधबार राति उनको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन् ।

यसैगरी लम्कीचुहाकै ३५ वर्षीया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बरको मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका छन् । उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता कैलालीको धनगढीमा पनि बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीरसहित दुई जना घाइते भएका छन् । बिहीबार बिहान से १ ख ६१४ नम्बरको बसले निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा से ७ प ३१३५ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवबहादुर घर्ती र पछाडि सवार पद्मा घर्ती घाइते भएका हुन् । चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment