 
																			६ कात्तिक, वीरगञ्ज । नेपालसँगको भारतीय नाका खुलेपछि सीमा क्षेत्रमा आवतजावत बढेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मार्च २३ तारिखदेखि नै नेपाल र भारत दुबै देशले सीमा नाका बन्द गरेका थिए । तर बिहीबार बिहानै नाका वरपर दुवै देशका सर्वसाधरणको भिड लाग्यो ।
नेपाली भारत जान खोज्ने र भारतीय पनि नेपाल आउन खोज्ने तर सशस्त्र प्रहरीले रोक्ने भएपछि बिहान केहीबेर नाका क्षेत्रमा तनाव उत्पन्न भएको थियो । नेपालतर्फको नाका बन्द नै रहेको जानकारी सशस्त्र प्रहरी बलले गराएपछि भारतीय नागरिक फर्किएका थिए ।
नाका खुलेको हल्ला चलेपछि मोटरसाइकल लिएर वीरगञ्ज आएका भारतको रक्सौल हरैयाका रवि सर्राफ फर्किए ।
‘बोर्डर खुलेको छ भन्ने जानकारी पाएर बाईक लिएर आएको थिएँ, तर नेपाली सुरक्षाकर्मीले बोर्डर बन्द नै छ भनेर फर्काइदियो’ उनले भने ।
आसन्न विद्यान सभा निर्वाचनलाई लक्षित गरेर भारत सरकारले सीमा नाका खोल्ने निर्णय गरेको आशंका गरिएको छ । तर नेपाल सरकारले सीमा नाका खोल्ने निर्णय गरिसकेको छैन । नेपाल सरकारले कात्तिक मसान्तसम्म सीमा नाका बन्द रहने जनाएको छ ।
चाडवाडमा लुगा कपडा तथा खाद्यान्न सामाग्री किन्न नेपाली नागरिक भारतीय बजार रक्सौल जाने गरेका छन् । मुख्य नाकाबाट ओहोरदोहोर गर्न नपाएपछि सर्वसाधरण छेउछाउका बाटो प्रयोग गरेर ओहोरदोहोर गरिरहेका छन् ।
बारा प्रसौनीकी मधु देवीले सीमा नाकामा सुरक्षाकर्मीले रोक्दा समस्या भइरहेको गुनासो गरिन् । ‘गाडीमा समान ल्याइरहेका छन्, तर हामीलाई समान लिन जान दिँदैनन्’ उनले भनिन् ‘नाकाको बाटो जान नदिएपछि अर्को बाटो गएर समान लिएर आएँ ।’
वीरगञ्जमा भन्दा सस्तोमा समान पाउने भएकोले रक्सौलमा जाने गरेको उनको भनाइ छ । ‘ठूलो परिवार छ, खानामा नै धेरै खर्च लाग्छ’ उनले भनिन् ‘वीरगञ्जमा भन्दा सस्तोमा समान पाउने भएकोले रक्सौल जाने गरेको छु ।’
चिनी, तेल, लत्ता कपडा, खाद्यान्न, गेडागुडी, मरमसला रक्सौलमा वीरगञ्जमा भन्दा कम दाममा पाउने उनले बताइन् ।
नाका बन्द हुँदा वीरगञ्ज बजारमा भने व्यापार बढेको व्यापारीहरुले बताएका छन् । हेटौंडादेखि आएर मानिसहरु दसैंको किनमेल गर्न रक्सौल पुग्ने गरेका थिए । तर यसवर्ष नाका बन्द भएका कारण सीमा क्षेत्रका बासिन्दा मात्रै अरु बाटो प्रयोग गरेर रक्सौल गइरहेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले रक्सौलमा किनमेल गर्न जाने सर्वसाधारण समेत वीरगञ्जमै रोकिएकोले यहाँको व्यापार बढेको बताएका छन् ।
भारतले आफ्नो तर्फको सीमा नाका खोलेपनि नेपाल सरकारले कात्तिकको ३० गतेसम्म बन्द गर्ने निर्णयमा कुनै परिवर्तन गरेको छैन । अत्यावश्यक आवतजावतका लागि सरकारले १० वटा सीमा नाका खोलेको छ । भारतमा रहेका नेपाली तथा उपचारका लागि आएका भारतीय नागरिक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नेपाल आउन सक्छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सरकारको अर्को निर्णय नआउँदासम्म सीमा नाका कात्तिक ३० गतेसम्म बन्द नै रहने बताए ।
‘बोर्डर खुल्यो भनेर नागरिकहरु आउनुभयो, तर नेपालतर्फ खुलेको छैन । सशस्त्र प्रहरी मार्फत भारतीय समकक्षी एसएसबीलाई पनि नेपाल तर्फको बोर्डर अझै नखुलेको जानकारी पठाईसकेका छौं’ प्रजिअ तामाङले भने ‘उपचार लगायत तोकिएका काममा बाहेक अन्य समयमा सीमा नाकामा आवागमन बन्द नै रहन्छ ।’
उनले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेर सर्वसाधारणको आवागमन हुन नदिने बताए । ‘पहिला दुवैतिर बन्द हुँदा सहज थियो, अब भारतले खोलेपछि समस्या हुने देखिएको छ’ उनले भने ‘त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गर्ने तयारी गरेका छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4