Comments Add Comment

अमेरिकी विदेशमन्त्री पम्पियो किन आएनन् नेपाल ?

१३ कात्तिक, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले एक महिनाको अवधीमा दुई पटक एसियाको भ्रमण गरे ।

केही हप्ता पहिले हुने जापानमा भएको क्वाड बैठकमा सहभागी हुन आएका थिए र त्यही बेला उनले विभिन्न एसियाली मुलुकको भ्रमण गर्ने तय भएको थियो तर पछि रद्ध भयो ।

यतिबेला उनी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणमा छन् । उनले भारत, श्रीलंका, माल्दिभ्सको भ्रमण सम्पन्न गरेका छन् । उनले अन्तिम समयमा आएर अर्काे एसियाली मुलुक भियतनामलाई समेत आफ्नो भ्रमणको सूचिमा राखेका छन् ।


तर पम्पियो किन नेपाल आएनन् ? सन् २००२ कोलिन पावेल नेपालको भ्रमणमा आएदेखि कुनै पनि अमेरिकी विदेशमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । नेपालको तर्फबाट भने सन् २०१८ को डिसेम्बरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए । दक्षिण एसियाका साना मुलुकहरु भ्रमणको प्राथमिकतामा पर्दा नेपाल किन परेन ?

यस विषयमा सरकारी पक्षले केही पनि बताएको छैन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै भनेका छन्, ‘अहिले देशमा को आयो र गयो भन्ने रोइलो चलिरहेको बेला मचाँहि हाम्रो देश विश्व, क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु । हाम्रो आँगन जत्रो माल्दिभ्स र रुवान्डामा शक्ति राष्ट्रका नेता ओइरिने तर हामीकहाँ खै ?’

पछिल्लो समयमा नेपालमा अमेरिकाको चासो बढीरहेको छ भन्ने चर्चा चलिरहेको समयमा अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा नआउनुलाई निकै अर्थपूर्ण रहेको विज्ञहरु बताउँछन् ।

यसैसन्दर्भमा डा. भट्टराई थप लेख्छन्, ‘तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नुस् ।’

नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गत प्रदान गर्ने सहयोग संसदबाट अनुमोदन हुन सकेको छैन । अमेरिकाले एमसीसी अनुमोदनको लागि निरन्तर रुपमा आग्रह गरिरहेको छ तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादका कारण यो अगाडि बढ्न सकेको छैन ।

अर्काेतर्फ लामो समयदेखि अमेरिकाले नेपाललाई ‘भारतीय आँखा’ले हेर्ने गरेको विश्लेषण समेत हुने गर्दछ ।

त्यसैले नेपालको मामिलामा फेरि अमेरिकी विदेशमन्त्रीले दिल्लीमा नै परामर्श गरेर त फर्केनन् भन्ने पनि एकाथरीको विश्लेषण छ ।

सन् २०१८ र २०१९ मा थुप्रै अमेरिकी अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए । तर अमेरिकी विदेशमन्त्री नेपाल आएको भए उच्च राजनीतिक तहमा सम्बन्ध स्थापना गर्न सहज हुने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment