Comments Add Comment

कोरोनाको नेगेटिभ रिपोर्ट नदेखाउँदा त्रिविमा कर्मचारीलाई हाजिर गर्न रोक

१६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण नभएको रिपोर्ट माग्दै कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ ।

त्रिवि रेक्टर कार्यालय अन्तर्गतको अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पीसीआर परीक्षणको रिपोर्ट मागेर हाजिर गर्न नदिएको हो ।

‘असोज २५ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कात्तिक ८ गते पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेको छ । रिपोर्ट घरमा छ भन्दा पनि अहिले देखाएर मात्रै हाजिर गर्नू भने’ हाजिर गर्न नपाएका ती कर्मचारीले भने ।

त्रिवि रेक्टर कार्यालयले कोरोना संक्रमित कर्मचारीले कोरोना रिपोर्ट नेगेटिभ रिपोर्ट आएपछि मात्र कार्यालय आउन पाउने नियम बनाएको छ ।

‘निको भएको हो भने त्यसको रिपोर्ट देखाउनुपर्छ। मोबाइलमा भए पनि रिपोर्ट देखाउनुपर्‍यो । किनभने हामी सुरक्षित हुनुपर्‍यो’ निर्देशनालयका निर्देशक उमेश मण्डलले भने, ‘सबै कर्मचारीलाई सुरक्षित हुने अधिकार त छ नि ।’

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमित भए पनि लक्षण नदेखिए १४ दिनपछि परीक्षण गराउनु नपर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी वा गैरसरकारी कुनै पनि कार्यालयले रिपोर्ट मागेर दुःख दिए कारवाही गर्ने बताएका छन् ।  तर, निर्देशनालयका निर्देशक मण्डल भने मन्त्रालयले बनाएको प्रोटोकल आफूहरूलाई थाहा नहुने बताउँछन् ।

भन्छन्, ‘पहिला कोराना लागेको मानिस निको भएको प्रमाण त होला नि, हाजिर गर्दा त्यो देखाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment