Comments Add Comment

कोभिड–१९ : कता हरायो सीसीएमसी निर्देशक समिति ?

सीसीएमसी फाइल तस्वीर ।

१६ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध नेपालको ‘वार रुम’ जसरी काम गर्न बनाइएको हो– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति ।

त्यही भएरै सीसीएमसी निर्देशक समितिले गरेको सिफारिसकै आधारमा मन्त्रिपरिषदले निर्णय गर्दै आएको छ । तर, कोरोना महामारी बढिरहेका बेला (सीसीएमसी निर्देशक समिति निष्क्रिय बन्दै गएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको यो समितिको बैठक २४ असोजपछि बस्न सकेको छैन ।

जनस्वास्थ्यका जानकारहरू सीसीएमसीका यस्तो निष्क्रियतालाई महामारीसामू सरकारले हात उठाएको बलियो प्रमाण भएको रुपमा व्याख्या गर्छन् ।

सीसीएमसीका अधिकारीहरुले पनि पछिल्लो समय त्यस्तै भएको स्वीकार गर्छन् । कतिसम्म भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित वर्गबाहेक अरुको परीक्षण तथा उपचार निःशुल्क नगर्ने निर्णय सार्वजनिक गर्दा समेत सीसीएमसी बेखबर थियो ।

मन्त्रालयले मन्त्रिपरिषद्को १९ असोजको निर्णयअनुसार भन्दै २ कात्तिकमा उपचार खर्च आफैं व्यहोर्नुपर्ने बताएको थियो । जबकि संविधान, प्रचलित कानून र सर्वोच्च अदालतको फैसला अनुसार सरुवा रोगको उपचार र परीक्षण राज्यको बाध्यकारी दायित्व हो । इच्छा लाग्दा गर्ने नलाग्दा नगर्ने विषय हुँदै होइन ।

जनतासँग कोरोनाको परीक्षण र उपचार शुल्क लिने सरकारको निर्णयसँगै संक्रमितले सरकारी अस्पतालहरुमै हजारौं धरौटी जम्मा गर्नुपर्ने भएको छ भने स्थानीय पालिकाहरुले समुदायबाट स्वाब संकलन गर्ने काम प्रभावित भएको छ ।

यो पनि पढ्नुहोस टेकु अस्पतालले पनि माग्यो कोरोना संक्रमितसँग धरौटी

अहिले परीक्षण निकै बढाउनुपर्ने बेला छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगिसकेको छ । ३७ हजार ७६५ सक्रिय संक्रमितमध्ये ३१ हजार ८ होम आइसोलेसनमा छन्, जसले स्वास्थ्यकर्मीहरूबाट प्रत्यक्ष निगरानी पाउन सकेका छैनन् ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार होम आइसोलेसनमा बसेकाहरूको उचित निगरानी हुन सकेन भने गम्भीर अवस्थामा अस्पताल आउने र मृत्यु हुनेको संख्या पनि बढ्छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ९६० जनाको मृत्यु भएको भने पनि प्रदेशका सामाजिक विकास मन्त्रालयहरू र शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाको तथ्यांकले यो संख्या १४०० आसपास पुगिसकेको देखाएको छ ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट २/३ लाख मानिस राजधानी बाहिर गएको देखिन्छ छ । उनीहरू काठमाडौं फर्किने क्रम पनि जारी छ । यो ओहोर–दोहोरले पनि कोरोना संक्रमण एकठाउँबाट अर्को ठाउँमा पुर्‍याउन भूमिका खेलेको छ ।अब जाडो मौसम पनि सुरु हुँदैछ । यसले पनि संक्रमण बढ्दा संकट थप चुलिने देखिन्छ ।

तर महामारीविरुद्ध रणनीति बनाउनुपर्ने सीसीएमसी निर्देशक समितिको बैठक बस्न छोडेको हो ।

सीसीएमसी निर्देशक समितिका सचिव महेन्द्र गुरागाईले काम भइरहेको दाबी गरेका छन् । ‘सीसीएमसी निर्देशक समितिले कामै नगरेको होइन’ उनले भने, ‘पछिल्लो पटक विज्ञहरूसँग छलफल गर्‍यौं । उपप्राधनमन्त्रीले आजै स्वास्थ्यमन्त्रीसँग छलफल गर्नुभयो । अब छिट्टै निर्देशक समितिको बैठक बस्छ होला ।’

बढ्दो संक्रमण रोक्न हाम्रो रणनीति के हो त भन्ने प्रश्नमा उनले भने, ‘उपचारको पाटो स्वास्थ्य मन्त्रालयले हेर्ने हो । क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ सीसीएमसीले हेर्ने हो । पछिल्लो मापदण्ड हेरफेरले समन्वय अभाव जस्तो देखिएको छ । कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर आज मन्त्रीज्यूहरुको छललफल भएको छ ।’

परीक्षण बढाउने, अक्सिजन वेड थप गर्नेलगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

‘सीसीएमसीले हात उठाइसक्यो’

विपद् व्यवस्थापनविद् तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा. गंगालाल तुलाधार भने सीसीएमसी निर्देशक समिति बनाउने अवधारणा नै गलत भएको बताउँछन् ।

वकाइदा कानूनी व्यवस्था भएको प्रधानमन्त्री अध्यक्ष रहने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्, गृह मन्त्रालयअन्तर्गत इमर्जेन्सी अपरेसन सेन्टर र स्वास्थ्य मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर हुँदाहुँदै कानूनले नचिन्ने र जवाफदेहिता विनाको सीसीएमसी निर्देशक समिति बनाउनु आफैंमा समस्या भएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री नेतृत्वको परिषद् तथा गृह र स्वास्थ्य मन्त्रालय अन्तर्गतको इमर्जेन्सी सेन्टरबीच समन्वय गरेर जानु पर्दथ्यो’ विपद् व्यवस्थापनमा विद्यावारिधी गरेका तुलाधर भन्छन्, ‘जतिबेला समस्या थिएन, सीसीएमसी उत्साहित र सक्रिय थियो, कोरोना नियन्त्रण बाहिर जान थालेपछि हात छोडेर बसेको छ ।’

पूर्वस्वास्थ्य मन्त्री गगन थापा पनि सञ्चार माध्यमले लेख्न छाड्ने हो भने कोरोना सरकारको एजेण्डामै नपर्ने देखिएको टिप्पणी गर्छन् ।

‘अर्जेन्सीको हिसाबले प्रत्येक दिन दुई दिनमा बैठक बस्नुपर्ने जस्तो अवस्था छ, तर महिना दिनसम्म सीसीएमसी निर्देशक समितिको बैठक बस्दैन । यो भनेको कोभिड सरकारको एजेण्डामा छैन भन्ने हो’ उनले अनलाइनखबरसँग भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment