Comments Add Comment

करातेका खेलाडी अभ्यासमा

१८ कात्तिक, काठमाडौं । कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नजिकिँदा समेत खेलकुद गतिविधि हुन नसक्दा उक्त प्रतियोगितामा सहभागिता हुने लक्ष्य राखेका खेलाडीहरु चिन्तित छन् । टोकियो ओलम्पिकको लक्ष्य राखेका कराते खेलाडीहरु मंगलबार सातदोबाटोस्थित कभर्डहलमा अभ्यासमा व्यस्त देखिन्थे । लामो समयदेखि अभ्यास गर्न नपाएका खेलाडीहरु लयमा फर्किन निकै मिहिनेत गरिरहेका देखिन्थे ।

नौ महिना देखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब आएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सीमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ । खेलाडी आफैंले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिट फुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् । यसै मध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन् ।

घरको बसाइ पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन पाउँदा आफूलाई उत्साह मिलेको कराते खेलाडी अनु अधिकारीले बताइन् ।

यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नवीन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा खुशी देखिन्थे । कोरोनाले असर पारेको भन्दै नवीनले घरको वातावरणमा भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताए ।

मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने बताए । खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अवलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र सोही अनुसार खेलाडीलाई फिट्नेसका लागि अभ्यासमा बोलाएको बताए ।

असोज ८ गतेदेखि खेलाडीहरु अभ्यासमा व्यस्त रहेको र दसैँका केही दिन बन्द रहेको अभ्यास खेल आइतबारदेखि पुनः सञ्चालनमा आएको उनले बताए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment