२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कश्मीरको पहलगाममा भएको आतंककारी हमलापछि पाकिस्तानसँग हुने सबै प्रकारका क्रिकेट खेल र सम्पर्क पूर्ण रूपमा रोक्नुपर्ने बताएका छन्। उनले तटस्थ मैदानमा समेत कुनै खेल हुन नहुने बताएका छन्।
दिल्लीमा आयोजित एक कार्यक्रममा गम्भीरले भने, ‘यसमा मेरो व्यक्तिगत विचार के छ भने हामीले कुनै पनि नखेल्दा हुन्छ । जबसम्म आतंकवाद बन्द हुँदैन, तबसम्म भारत–पाकिस्तानबीच कुनै पनि किसिमको खेल हुनु हुँदैन।’
यसअघि अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकी हमलामा २६ जनाको मृत्यु भएको थियो। त्यसपछि भारत सरकारले पाकिस्तानविरुद्ध विभिन्न कदमहरू चालेको छ, जस्तै– इन्डस वाटर सन्धि निलम्बन, अटारी नाकाको बन्द, र कूटनीतिक सम्बन्ध घटाउने निर्णय।
भारतले सन् २०१३ यता पाकिस्तानसँग कुनै दुईपक्षीय श्रृङ्खला खेलेको छैन, तर एसिया कप र आईसीसीका प्रतियोगिताहरूमा भने खेलेको छ जुन् खेलहरू न्युट्रल भेन्यूमा हुँदै आएको छ । पछिल्लो पटक दुवै टोली २०२५ को च्याम्पियन्स ट्रफीमा एक-अर्कासँग खेलेका थिए जहाँ भारत विजयी भएको थियो ।
गम्भीरले भने, ‘सरकारको निर्णय अन्तिम हुन्छ। क्रिकेट, फिल्म, वा कुनै सांस्कृतिक कार्यक्रमभन्दा पनि भारतीय सैनिक र नागरिकको जीवन महत्वपूर्ण हुन्छ। खेल त फेरि पनि हुन्छ, तर परिवारको सदस्य गुमाउनु सबैभन्दा पीडादायक कुरा हो।”
उनले थपे, ‘यो मेरो अधिकार क्षेत्रभित्रको कुरा त होइन, सरकार र बीसीसीआई को निर्णय नै मान्य हुनुपर्छ, यसलाई राजनीतिक रंग दिनु हुँदैन।’
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4