
२१ कात्तिक, विराटनगर । सुनसरी मोरङ सिञ्चाई आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सकुम्बासी परिवारले नयाँ घर पाएका छन् ।
आयोजनाको मोरङ ग्रामथान गाउँपालिका खण्डको नहरको डिलबाट विस्थापित भएका ३४ परिवारले एकीकृत नमुना बस्तीमा नयाँ घर पाएका हुन् ।
अति विपन्न तथा सुकुम्बासी परिवारका ग्रामथानको वडा नम्बर – ७ मा एकीकृत नमुना बस्ती निर्माण पछि हस्तान्तरण गरिएको हो ।
नहरको डिलबाट दुई वर्षअघि विस्थापित भएका ३४ परिवारले टिनको छानो, एट्याच बाथरुम र शौचालयसहितको तीनकोठाको घर पाएका छन् । ३४ परिवारलाई शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस्ती हस्तान्तरण गरे ।
एकीकृत बस्तीमा ३ करोड ४ लाख लागतमा बस्ती निर्माण भएको हो । २०७५–७६ मा निर्माण सुरु गरिएको बस्ती निर्माणका लागि सांसद अमनलाल मोदीले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको १ करोड १९ लाख विनियोजन गरेका थिए ।
त्यस्तै तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ६७ लाख ९ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख विनियोजन गरेको हो ।
खानेपानी र शौचालय एक महिनाभित्र
स्थानीय प्रमिलाकुमारी चौधरी नहरको डिलबाट लखेटिएपछि खोलाको छेउमा झुप्रो बनाएर बस्दै आएकी थिइन् । नमुना बस्तीमा टिनको छाना लगाएको घर पाएपछि उनी दंग छिन् ।
अमृताकुमारी खवास र उनका श्रीमान पनि मजदुरी गर्छन् । घर निर्माणमा मजदुरको काम गर्ने उनको परिवार दुःखले चलेको थियो । तर घर बनाउन सक्ने अवस्था थिएन । नमुना बस्तीमा घर पाएकी उनी दंग छिन् । ‘हामी जनमजदुरी गर्छाैं, यस्तो घरमा बस्ने सोचेको थिएनौं’ उनले भनिन् ‘नयाँ घर पाउँदा खुसी छौं ।’
मोरङ क्षेत्र नम्बर– ४ का प्रतिनिधी सभा सदस्य मोदीको अग्रसरतामा दुई वर्ष अघि एकिकृत नमुना बस्ती निर्माणको काम थालनी भएको थियो । बस्तीसम्म पुग्नका लागि सडक पनि निर्माण गरिएको छ ।
एट्याच शौचालय र बाथरुमसहितको तीनकोठाको घरमा परिवार बस्न थालेपनि खानेपानी, विद्युत र शौचालय जडानको काम पूरा भएको छैन ।
खानेपानी र शौचालय नहुँदा समस्या भएको स्थानीय सन्तोष शरदारले बताए । उनका अनुसार घरभित्र शौचालय निर्माण भएपनि पाइप जडान भएको छैन । खानेपानी र विद्युतको पनि समस्या भएको उनले बताए ।
ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले एक महिनाभित्र शौचालय र खानेपानीको काम सकिने बताए ।
प्रतिक्रिया 4