Comments Add Comment

उपेक्षित मानहुँकोट एकाएक चर्चामा, पर्यटकको भिड

मेयर भन्छन्- हामी चकित छौं

Photo Credit : किरण श्रेष्ठको फेसबुक

२३ कात्तिक, काठमाडौं । तनहुँको व्यास नगरपालिका-५ मा रहेको मानहुँकोट डाँडा हिजोआज निकै चर्चित छ । यहाँ दिनहुँ मानिसहरुको भिड लाग्न थालेको छ । केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै एक हजारभन्दा धेरै मानिस घुम्न पुग्छन् । बस्ती नै रित्तिसकेको यो डाँडोमा अहिले मान्छेको चापलाई व्यवस्थापन गर्न गाह्रो भएको बताउँछन् व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने बताउँछन् ।

केही व्यक्तिले डाँडो र त्यहाँबाट देखिएका दृश्य सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो । त्यसपछि बिस्तारै आन्तरिक पर्यटकको चाप बढेको छ । शनिबार अत्यधिक भिडभाड भएपछि नगरपालिकाले व्यवस्थापनका लागि आज (आइतबार) डाँडामै बैठक राखेको छ ।

‘सामाजिक सञ्जालमार्फल भाइरल भएपछि युवाहरु आएका छन् । बस्ने ठाउँ नपाएर, मान्छेहरु होटल पनि नपाएर चोक र गल्लीमा छन्,’ मेयर न्यौपानेले भने, ‘हामी पनि चकित छौं । आज मिटिङ त्यहीँ राखेका छौं ।’

मानहुँकोट जान सदरमुकाम दमौली बजार र नजिकैका जिल्लाहरुका मात्रै नभएर पश्चिम कञ्चनपुर, पूर्वको झापा, काठमाडौं, चितवनलगायतका जिल्लाबाट गाडी रिजर्भ  गरेर पनि मानिसहरु आइरहेका मेयर न्यौपानेले बताए । उनीहरुले सूर्योदय र सूर्यास्त हेर्न दार्जिलिङ जानुभन्दा मानहुँकोट आएको बताउने गरेका छन् ।

पर्यटकको चाप बढेपछि उपेक्षित मानहुँकोटमा अहिले भने दमौलीका व्यापारीले जग्गा खरिद गर्न थालेका छन् ।

जिल्ला सदरमुकाम दमौली बजारबाट ६ किलोमिटर टाढा पर्ने यो डाँडालाई ‘बजारको छाता’ पनि भनिन्छ । बिहान ११/१२ बजेसम्म दमौलीलाई कुहिरोले ढाक्छ । दिउँसो ३ बजेपछि मानहुँ डाँडाको छाया पर्छ ।

समुन्द्र सतहदेखि ११०० मिटर उचाइमा रहेको मानहुँकोट खासमा मान्छे बस्न नरुचाउने डाँडो हो । पछिल्लो समय यहाँ मानव बस्ती निकै पातलिएको छ । पुरानो बस्तीका मानिस बसाइ सरेर ७ घर मात्र बाँकी छन् । केही वर्षअघिसम्म ७० घर रहेको यो ठाउँका कोही नजिकैको दमौली बजारतिर झरे, कोही अन्तै बसाइ सरे ।

नजिकै भएकोले धेरैजसो थातथलो छोडेर दमौली बजार नै बसाइ सरेको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम दमौली र मानहुँकोटको दुरी जम्मा ६ किलोमिटर पर्छ ।

मानहुँकोटमा अहिले पनि खानेपानीको सुविधा छैन । एक घण्टाको बाटो हिँडेर यहाँका बासिन्दा खानेपानीको जोहो गर्छन् ।

शनिबार मानहुँकोट जानेहरुको भिड ।

मानहुँकोटको विशेषता

मानहुँलाई नगरपालिकाले पर्यटकीय स्थलका रुपमा लिए पनि पर्यटकलाई आह्वान गरेको थिएन । तर एकाएक पर्यटकको संख्या ह्वात्तै बढ्यो ।

बस्ती हराउँदै गएको यो डाँडामा मान्छे ओइरिनुका केही कारण छन् । डाँडाका केही विशेषताका कारण पूर्वदेखि पश्चिमबाट पर्यटकहरु आइरहेका छन् ।

यो डाडो आफैंमा भ्यू टावर हो । अग्लो र फराकिलो क्षेत्र भएकाले यहाँबाट गण्डकी प्रदेशका धेरै क्षेत्र देखिन्छ । मुख्यत: दिउँसो यो डाँडाबाट ‘ह्वाइट लेक’ अर्थात हिमालय क्षेत्र प्रष्टसँग देखिन्छ । बिहान र बेलुका सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ ।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायतका हिमशृङ्खला देखिन्छ ।

डाँडाबाट रातिमा दमौली बजारको निकै रमाइलो दृश्य पनि देखिन्छ । दमौली, मादी र सेतीको संगमस्थल व्यास भूमि पनि देखिन्छ ।

बिहान, बेलुका र दिउँसो जुनसुकै समयमा पनि केही न केही अवलोकन गर्न सकिने भएकोले पछिल्लो समय मानहुँलेख पर्यटकको रोजाइमा परेको छ ।

के गर्दै छ नगरपालिका ?

पर्यटकको चाप बढेपछि व्याँस नगरपालिकाले मानहुँमा थप पर्यटन विकास गर्ने योजना बनाएको छ । केही नभएको डाँडोमा पर्यटकको भिड लागेपछि तत्काललाई सामान्य व्यवस्थापन गरी दीर्घकालीन विकासका लागि गुरुयोजना बनाउने तयारी नगरपालिकाको छ ।

डाँडासम्म सडक निर्माण भइसकेको छ । केही भाग कालोपत्रेसमेत गरिएको छ । पर्यटक बढ्न थालेपछि नगरपालिकाले २५ लाख रुपैयाँको लागतमा भिरपट्टीको क्षेत्रमा बार लगाइसकेको मेयर न्यौपानेले बताए ।

डाँडामा २७ लाख रुपैयाँको लागतमा ‘भ्यु प्वाइन्ट’ पनि निर्माण हुँदै छ ।

मुख्य गरी खानेपानीको समस्या रहेकोले त्यसका लागि पनि लिफ्टिङ गरेर पानी पुर्‍याउने तयारी नगरपालिकाको छ ।

तत्काललाई शौचालय निर्माण, सुरक्षाको व्यवस्था र सरसफाइको काम गरिने मेयर न्यौपानेले जानकारी दिए ।

‘तत्काललाई शौचालय निर्माण, सुरक्षा र सरसफाइको व्यवस्थापनको काम गर्छौं । गुरुयोजनाको तयारी गरेका छौं । त्यसपछि अरु काम हुन्छ । त्यहाँ कस्ता घर बनाउने भन्ने कुरासमेत भइरहेको छ,’ मेयर न्यौपानेले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment