
२३ कात्तिक, काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले अर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबखको प्रमुख सहर आफ्नो कब्जामा लिएको दाबी गरेका छन् । आइतबार टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले अजरबैजानको सेनाले सुसा सहर आफ्नो नियन्त्रणमा लिएको बताएका हुन् । यद्यपि अर्मेनियाले भने यसको खण्डन गर्दै अहिले पनि यो सहरमा युद्ध चलिरहेको दाबी गरेको छ ।
रणनीतिकरुपमा यो सहर दुई मुलुकको युद्धमा निकै महत्वपूर्ण मानिएको छ । यो सहरलाई आफ्नो नियन्त्रणमा लिनु अजरबैजानको लागि अहिले जारी रहेको युद्धमा निकै ठूलो जित हुनेछ । नागोर्नो काराबख अन्तर्राष्ट्रियरुपमा अजरबैजानको भूमि हो । तर यो भूमिमा अर्मेनियाले कब्जा जमाउँदै आएको छ । यो भूमिको विषयलाई लिएर यसअघि पनि युद्ध भएको थियो । सन् १९९४ मा सकिएको उक्त युद्ध कुनै शान्ति सम्झौता विना नै टुङ्गिएको थियो । त्यसैले अहिले यो क्षेत्रमा पुनः युद्ध सुरु भएको हो ।
अहिले दुई मुलुकको बीचमा जारी युद्ध गत सेप्टेम्बर महिनामा सुरु भएको हो । यो युद्ध सुरु हुनुमा दुवै मुलुकले एकअर्कालाई दोषी देखाउँदै आएका छन् । यो युद्धमा अर्मेनियाको तुलनामा अजरबैजान अगाडि देखिँदै आएको छ ।
टर्कीले सुसा सहरमा नियन्त्रण कायम गर्न सफल भएको अजरबैजानलाई बधाई दिएको छ । टर्की अजरबैजानको समर्थनमा देखिएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अजरबैजानलाई टर्कीले पूर्णरुपमा समर्थन गर्ने बताइसकेका छन् ।
अन्तर्राष्ट्रिय समुदायहरुले पनि युद्ध रोक्न दुवै मुलुकलाई पटकपटक आग्रह गर्दै आएका छन् तर युद्ध भने रोकिएको छैन ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4