Comments Add Comment
बालुवाटारमा ओली–माधव वार्ता :

ऐनामा आफ्नै जुँगा हेरेर प्रधानमन्त्री मख्ख !

माधव नेपालले भने– एकपटक पछाडि फर्केर हेर्नुहोस्

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग तीनसातामा तीनपटक भेटवार्ता गरे । आइतबार भएको पछिल्लो भेटमा प्रधानमन्त्री ओलीले आफ्नै जुँगा देखेर उदेक लाग्न थालेको भाव प्रकट गरे ।

पार्टीभित्र प्रचण्डसँग दुरी बढ्न थालेपछि प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई कात्तिक ४ र कात्तिक ११ मा एक्लै भेटेका थिए । आइतबार पनि नेपालसँग उनी एक्लै छलफल गर्न चाहन्थे ।

नेता नेपालसँग लामै कुरा गर्न पर्‍यो भन्दै आइतबार बिहान प्रधानमन्त्री ओलीले फोन गरेर भेटवार्ताको प्रस्ताव राखे । नेता नेपालले सम्वाद गर्न तयार रहेको जवाफ फर्काएपछि दिउँसो भेटको साइत जुर्‍यो ।

तर, यसपटक माधव नेपाल एक्लै बालुवाटार गएनन् । उनले आफूनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि साथमा लिएर पुगे ।

प्रधानमन्त्री ओलीको तयारी समूहमा कुरा गर्ने थिएन । नेपाल एक्लै नगएपछि छलफलले अर्कै मोड लियो । महत्वपूर्ण छलफल भनिएकोमा ओलीले आफ्ना व्यक्तिगत अनुभवहरू सुनाएर समय खर्चिए ।

पूर्वएमालेबीच सहकार्यको प्रस्ताव राखेका ओलीले नेपाल पक्षका नेताहरुबाट चित्तबुझ्दो जवाफ नपाएपछि आफ्नै जुँगाको प्रशंग निकाले ।

‘दोस्रो अपरेशन गरेपछि के भयो, के भयो कुन्नि, म पहिलाको भन्दा तरुण र ताजा भएको छु । हाछ्युँ पनि आएको छैन,’ प्रधानमन्त्रीले भने, ‘रोगसोग पनि छेऊछाऊसम्म आएको छैन । अपरेशनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेका छन् । के भएर हो कुन्नि, पहिला सबै जुँगा सेतै उम्रन्थे । अहिले आधउधी जुँगा कालो भएर उम्रन थालेको छ ।’

 

प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि आधाउधी जुँगा कालो उम्रिन थालेको बताए पनि ओठमा सेताम्ये जुँगा देखिएको भेटवार्ताबाट फर्केका एक नेताले सुनाए ।

आ-आफ्नै अडानमा ओली–नेपाल

प्रधानमन्त्री ओलीले सुरुमै पार्टी अप्ठ्यारोमा परेकाले सहकार्यको प्रस्ताव राखे । प्रधानमन्त्री ओलीले विगतमा पनि मिलेरै एकता जोगाएको र पार्टी यहाँसम्म ल्याइपुर्‍याएको माधव नेपालको समूहलाई बताए । ‘पार्टी अप्ठ्यारो अवस्थामा आइपुगेको छ, तपाईंहरुलाई भनिरहनुपरेन । एकतावद्ध भएर जोगाउनुपर्‍यो’, प्रधानमन्त्रीको प्रस्ताव थियो ।

जवाफमा बरिष्ठ नेता नेपालले ओलीलाई प्रश्न गरे, ‘हो, पार्टी अप्ठ्यारो अवस्थामा आइपुगेको छ । तर, तपाईं अध्यक्ष र प्रधानमन्त्री, अनि पार्टी भोलि तलमाथि भयो भने यसको जिम्मेवारी कसले लिन्छ ?’

छलफलमा बरिष्ठ नेता नेपालले लामै कुरा राखेका थिए । नेकपा विभाजनको नजिक पुग्नुमा प्रधानमन्त्रीको कार्यशैली प्रमुख रहेको उनले बताए । ‘एकपटक पछाडि फर्केर हेर्नुहोस्, पार्टी आज जुन अवस्थामा आइपुगेको छ, त्यसको जिम्मेवार तपाईं हो’ छलफलमा नेता नेपालको भनाइ थियो, ‘जसरी तपाईं एकलौटी ढंगले अगाडि बढ्नुभयो, सबलाई पेलेर अगाडि बढ्न खोजेपछि त्यसैले ल्याएको असन्तुष्टि हो यो ।’

नेकपा कुनै एउटामात्र व्यक्तिले निर्माण नगरेको बताउँदै रावलले सामुहिक निर्णयमा विश्वास गर्न आग्रह गरेका थिए । उनले बालुवाटारमा भने, ‘यो पार्टी धेरै मानिसहरुले निर्माण गरेको हो । हिजो पनि सामुहिक निर्णय र नेतृत्वमा चल्थ्यो । आज पनि सामूहिक निर्णय र नेतृत्वबाट चल्नुपर्छ ।’

माधव नेपालसँगै बालुवाटार पुगेका रघुजी पन्तले प्रधानमन्त्रीलाई भने, सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्छ । तपाई लचिलो भएर यसको समाधान खोज्नुपर्छ ।’

समस्या समाधानका लागि पार्टीको बैठक बोलाउनुको विकल्प नभएको निष्कर्ष समेत उनीहरुले ओलीलाई सुनाए । ओलीले भने पार्टीमा एकलौटी नगरेको र नेताहरुबीचको सहमतिमै निर्णय लिने गरेको तर्क प्रस्तुत गरेको छलफलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहित पाँचजना सचिवालय सदस्यले सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएको भोलिपल्टै बालुवाटार बोलाइएको नेपालले भने नेतृत्व सञ्चालनबारे केही सुझाव समेत दिएका थिए ।

सिंगो देशको नेतृत्व गर्ने व्यक्तिले मसिनो कुराहरुमा अल्मलिन नहुने भन्दै नेता नेपालले भने, ‘कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस्, तपाई के गर्नु हुन्छ, त्यो भन्नुहोस् ।’ उनले पार्टी विभाजन रोक्नेबारे ओलीको प्रस्ताव मागेका थिए । तर, कुनै ठोस प्रस्ताव र निर्णय भने छलफलमा हुन सकेन ।

‘मदन भण्डारी फाउण्डेसनको गतिविधि रोकिन्न’

प्रधानमन्त्री ओलीलाई बरिष्ठ नेता नेपालले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय र अन्तरपार्टी निर्देशिका (अपानि) विपरित भइरहेको गतिविधि रोक्न आग्रह गरेका थिए । ‘सर्कुलरमा गुटगत गतिविधि हुने फाउण्डेसन र प्रतिष्ठानहरु सञ्चालन हुन नदिने उल्लेख गरिएको छ, तर मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा तपाईं आफैं सहभागी हुनुहुन्छ, यसरी त हुँदैन’, नेपालको भनाइ थियो ।

तर, ओलीले भने मदन भण्डारी फाउण्डेसन पार्टीले सञ्चालन नगरेको र त्यहाँ पार्टीका नेताहरु नभएकाले यसको गतिविधि नरोकिने जवाफ दिए । ओलीको जवाफ सुनेपछि पन्तले त्यसोभए अरु प्रतिष्ठानहरु पनि सञ्चालनमा आउने बताए । ‘त्यो रोकिँदैन भने अरु पनि रोकिँदैन, अरुचाहिँ किन रोकिने ?’, पन्तले भने ।

त्यसपछि भने प्रधानमन्त्री ओली बोलेनन् ।

मदन भण्डारी फाउण्डेसनका नाममा जनताको बहुदलीय जनवाद (जबज) बारे छलफल गरेर पार्टी एकता भाँड्ने राख्ने नियत प्रष्ट भएको ओलीमाथि अरु नेताहरुको आरोप छ । पार्टी एकता हुँदा जनताको जनवाद भनिसकेपछि अहिलेको अप्ठ्यारो अवस्थामा जबज भन्दै हिँड्नु उचित नहुने तर्क नेपालले गरेका थिए ।

कात्तिक १५ मा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पार्टी विभाजनको प्रस्ताव राखेको जानकारी सार्वजनिक भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठक राख्न ओलीमाथि दबाव बढाइरहेका बेला ओली पक्षका नेताहरुले भने फाउण्डेसनको ब्यानरमा जबजबारे छलफल चलाइरहेका छन् ।

केही दिनअगाडि प्रदेश–१ का आफूनिकट नेताहरुसँग ओलीले फाउण्डेसनको ब्यानरमा जबजबारे बोलेका थिए भने शनिबार मात्रै काठमाडौं जिल्ला कमिटीका पूर्वएमाले नेताहरुसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले अन्तरक्रिया गरेका थिए ।

फाउण्डेसन ओलीको संरक्षकत्वमा चल्दै आएको गैरसरकारी संस्था हो । प्रचण्ड–नेपाल समूहले मदन भण्डारी फाउण्डेसनजस्तै प्रकृतिको पुष्पलाल मित्रता केन्द्रको ब्यानर प्रयोग गर्ने गरेका छन् ।

तर, पार्टी विभाजन रोक्ने गरी स्थायी कमिटी बैठकले गरेको १५ बुँदे निर्णय मार्फत् नेताहरुका नामहरुमा खोलिएका प्रतिष्ठानले गुटबन्दी बढाएकाले तत्काल रोक्ने निर्णय गरेको थियो । पार्टीले औपचारिकरुपमै गरेको यो निर्णय प्रधानमन्त्री ओलीले नमान्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment