Comments Add Comment

अमेरिकी किसानले फलाए १ हजार किलोको फर्सी, जिते २० लाख पुरस्कार

काठमाडौं । अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् ।

मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका बीच उनले करेसाबारीको फर्सीको स्याहारसुसार निकै गरे । दिनमा १० पटकसम्म सिँचाइ गर्ने तथा दिनको २ पटकसम्म मल हाल्ने काम गरे उनले । उनको मेहेनतको फल निकै मौलायो । अर्थात् करेसाबारीको एउटा फर्सी भिमकाय आकारमा बढ्यो ।

४० वर्षका गाइन्जरले आफ्नो करेसाबारीको भिमकाय फर्सीलाई क्यालिफोर्नियाको हाफ मुन बेमा हुने वार्षिक फर्सी प्रतियोगितामा सहभागी गराउने निधो गरे । त्यसपछि उनले उक्त फर्सीलाई ट्रकमा हालेर ३५ घण्टाको यात्रा गराएर हाफ मुन बे मा ल्याए । ४७ औँ विश्व फर्सी च्याम्पिएनसीपमा उनको फर्सीले अन्ततः सबैभन्दा वजनदार फर्सीको उपाधि जित्यो । उनको फर्सी २३ सय ५० पाउण्ड अर्थात् १ हजार ६६ किलो तौलको रहेछ ।

लामो यात्रा गरेर फर्सीलाई प्रतियोगितास्थलसम्म लैजाँदा आफूले बाटोभरी नै फर्सीले जित हात पार्ने कल्पना गर्ने गरेको र अन्ततः त्यो यथार्थमा परिणत भएको उनको भनाइ छ ।

गाइन्जरले स्थानीय एनोका टेक्निकल कलेजमा वागवानी विषय पढाउने गर्दछन् । उनले आफ्नो किशोरावस्थादेखि नै घरको करेसाबारीमा फर्सी फलाउने गरेका छन् । उनका बुवाले पनि फर्सीको खेती गर्दथे ।

यो पटक पहिलो पटककै सहभागितामा आफूले फलाएको फर्सीले जित हात पारेपछि मख्ख परेका गाइन्जरले अर्को वर्षको प्रतियोगितामा भाग लिने वा नलिने कुनै निर्णय गरेका छैनन् ।

फर्सी प्रतियोगितामा जित हात पारेसँगै उनले १६ हजार ४५० अमेरिकी डलर रकम पाएका छन् । अर्थात् फर्सीको प्रतिपाउण्ड ७ डलर उनले कमाएका छन् ।

स्मरण रहोस् ४० वर्षदेखि क्यालिफोर्निया हुँदै आएको उक्त प्रतियोगितामा सहभागी भएका अहिलेसम्मकै फर्सीमध्ये गाइन्जरको फर्सी दोश्रो सबैभन्दा ठूलो फर्सी बनेको छ । यद्यपि अमेरिकामा अहिलेसम्म फलेको सबैभन्दा ठूलो फर्सी भन्दा उनको फर्सीको तौल उल्लेख्य रुपमा कम छ । सन् २०१८ मा न्युह्याम्पसाएरमा अहिलेसम्मकै ठूलो ११ सय ३४ किलोको फर्सी फलेको थियो ।

जबकी विश्वमै अहिलेसम्मको सबैभन्दा ठूलो फर्सी चाहिँ बेल्जियममा फलेको छ । सन् २०१६ मा जर्मनीमा आयोजित युरोपेली फर्सी प्रतियोगितामा जित हात पारेको उक्त फर्सीको तौल ११ सय ७९ किलो थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment