Comments Add Comment

हङकङमा प्रजातन्त्र पक्षधर सांसदले दिए सामूहिक राजीनामा

Photo Credit : REUTERS

२६ कात्तिक, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर सांसदहरुले राजीनामा दिएका छन् । चार जना सांसदलाई अयोग्य घोषित गरिएसँगै प्रजातन्त्रपक्षधर सांसद्हरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।

बुधबार चीनले हङकङलाई राष्ट्रिय सुरक्षाको जोखिमको सम्भावना भएका सांसद हटाउन सक्ने अधिकार दिने प्रस्ताव पारित गरेको थियो । सोही अधिकारको आधारमा हङकङको सरकारले प्रजातन्त्र पक्षधर चार सांसदलाई हटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै प्रजातन्त्र पक्षधर अन्य सांसदहरुले हटाइएका सांसदप्रति सद्भाव जनाउँदै सामूहिक राजीनामाको निर्णय गरेका हुन् ।

हङकङकी नेतृ क्यारी लाम चीन समर्थक मानिन्छिन् । त्यसैले उनले चीनलाई सहयोग पुग्ने योजना अघि सारिरहेकी छिन् । अहिले चीनले ल्याएको प्रस्ताव हङकङको स्वतन्त्रतामा थप कडाइ गर्ने उद्देश्यसहित आएको देखिएको छ । तर, चीनले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

यसअघि गत जुन महिनामा चीनले हङकङका लागि विवादित राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । जसमा विभाजनतर्फ लाग्ने, विद्रोह गर्ने र विदेशी शक्तिसँग साँठगाँठ राख्ने कार्यलाई आपराधिक कार्यको रुपमा परिभाषित गरेको थियो । बुधबार चीनले पारित गरेको प्रस्तावले पनि चीनको सार्वभौम अस्वीकार गर्दै हङकङको स्वतन्त्रताको पक्षमा उभिने सांसदलाई अयोग्य घोषित गर्दै उनीहरुलाई यो निर्णयविरुद्ध अदालत जान नसक्ने गरी हटाउन सक्ने उल्लेख छ । यो प्रस्ताव पारित भएसँगै प्रजातन्त्रका पक्षधर चार सांसद्लाई अयोग्य घोषित गरिएको थियो । यद्यपि उनीहरुले कहिले पनि हङकङको स्वतन्त्रताको माग नगरेको विपक्षीहरुले बताएका छन् ।

हङकङको ७० सिटको संसद्मा १९ सिट प्रजातन्त्र पक्षधर नेताको थियो । जसमध्ये चार नेतालाई अयोग्य घोषित गरिएसँगै बाँकी १५ जनाले पनि राजीनामा दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयले भने चार सांसदलाई कानुनमा आधारित रहेर अयोग्य घोषित गरिएको दाबी गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment