Comments Add Comment

छठलगत्तै १५ दिन लकडाउन गर्न सीसीएमसीलाई उपत्यकाका मेयरको सुझाव

गृहमन्त्री भन्छन् – तिहारपछिको संक्रमणको अवस्था हेरौं

२६ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन जति कडा लकडाउन गर्न सकिए, न्यूनिकरण गर्न सकिन्थ्यो भन्ने हामी सबैको राय हो ।’ उनका अनुसार हालको स्थितिलाई न्यूनिकरण गर्न पुनः एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका छन् ।

छलफलमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए । मेयरहरुको सुझावमा समर्थन जनाउँदै गृहमन्त्री थापाले पनि उपत्यकामा संक्रमण दर बढ्दै जानु चिन्ताजनक भएकाले तिहारपछिको अवस्था हेरेर कुनै निर्णय गर्नुपर्ने बताए ।

विगतमा लामो लकडाउनका कारण आर्थिक स्थिति पनि कमजोर हुन थालेपछि वातावरण सहज बनाइए पनि लगत्तै भएको नारा, जुलुस जस्ता गतिविधिले संक्रमण दर बढाएको थापाको भनाइ थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार उनले निश्चित समय लकडाउन गर्ने वा मोबिलिटी कम गर्ने अथवा अन्य कुनै विकल्पमा छलफल गर्नुपर्ने बताएका छन् । ‘तिहारपछिको संक्रमणको अवस्था हेरेर यस सम्बन्धी निर्णय गर्नुपर्छ’, उनले भनेका छन् ।

छलफलमा सरकारले कोरोना संक्रमितको उपचारमा हात उठाएको भन्दै मेयरहरुले गुनासो गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले भने सरकारले मोडलिटी परिवर्तन गर्दा बाहिर गलत प्रचार भएको दाबी गरेका थिए ।

‘कोरोना महामारीमा अबाञ्छित ढंगले राजनीति पनि घुसाउने काम भयो, त्यसकारण हुँदै नभएको कुरालाई मिस इन्टरप्रिएट भए’, पोखरेलले भने, ‘अब ती सबै कुरालाई परास्त गरेर  तीनै तहको संरचनाको सहकार्यलाई अझ मजबुत बनाउँदै महामारीको व्यवस्थापनलाई बलियो बनाउनुपर्छ ।’

कतिपय अवस्थामा समन्वयमा समस्या हुँदा समेत बाहिर गलत सन्देश गएको उनको जिकिर थियो । स्वास्थ्यमन्त्री ढकालले महामारी समाधान गर्न एकताबद्ध र साझा प्रयत्न आवश्यक भएको बताउँदै कतिपयले राजनीतिक ककटेल मिसाउने कोशिश गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment