Comments Add Comment

झिलिमिली घर : हे लक्ष्मीले बासै गरुन्

भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’

देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’

यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो भने, दियो-बत्तीले भिलिमिली बनाइयो भने लक्ष्मीले बास गर्न आउँछिन् ।

खासमा तिहार भनेकै लक्ष्मी माताको उपसना गर्ने पर्व हो । लक्ष्मीलाई धन अर्था ऐश्वर्यको प्रतिक मानिन्छ । तिहारको दिन घरलाई जति सफा, उज्यालो र आकर्षक बनाउन सकिन्छ, उत्तिनै धन-ऐश्वर्य आर्जन हुन्छ ।

यही धार्मिक मात्यतालाई अनुशरण गर्दै सबैले आफ्नो घरलाई सजाउँछन् । रंग रोगन गर्छन् । फूलमाला लगाइदिन्छन् । दियो बत्ती बाल्छन् । र, तिहारको रातमा घरलाई धपक्कै बालिदिन्छन् ।

त्यसो त घर भनेको हाम्रो जीवनभरको आश्रयस्थल हो, जहाँ हामीले धेरैजसो समय गुजार्छौं । घर केवल भौतिक संरचना मात्र होइन, हाम्रो भावना पनि हो । किनभने हाम्रो जीवनको सम्पूर्ण क्षण त्यही घरमा गुज्रिएको हुन्छ ।

घरसँगको यही भावनात्मक प्रेमलाई अरु प्रकट गर्ने अवसर हो, तिहार । तिहारको बेला अधिकांशले खुलेर घरको साजसज्जामा खर्च गर्छन् । घरलाई सफा बनाउने मात्र होइन, नयाँ रुप पनि दिने गरिन्छ ।

तिहारमा कसरी घरलाई आकर्षक बनाउने त ?

तिहारको महत्वपूर्ण भनेको लक्ष्मीको पूजास्थल हो । यसलाई परम्परागत शैलीमा सजाउन सकिन्छ । केराको थाम राखेर, सायपत्री फूलको मालाले सजाएर, दियोबत्ती राखेर पूजास्थल बनाउन सकिन्छ ।

तिहारमा घरको झ्याल, ढोका, बार्दली आदिमा फूलको मालाले सजाउने चलन छ । यसका लागि सायपत्री फूल सर्वोत्तम हो । मखमली र सायपत्री दुबै तिहारका खास फूल हुन् । यही दुई किसिमको फूलको मालाबाट पनि घर सजाउन सकिन्छ ।

यसैगरी कलस भरेर मूल ढोकाको दुईतर्फ राख्न सकिन्छ । यसले पनि घरलाई बेग्लै शोभा दिन्छ ।

घरलाई सजाउनका लागि सर्वप्रथम आँगनमा रंगोली बनाउन सकिन्छ । घरको मूल ढोकाको सम्मुखमा रंगोली बनाउनुपर्छ । रंगोलीलाई विभिन्न आकृतिमा सजाउन सकिन्छ । पिठो, चामल वा फूलहरुले रंगोली बनाउन सकिन्छ । रंगोलीका लागि उपलब्ध ठाउँ हेरेर कुन आकारको, कस्तो प्रकारको बनाउने भन्ने निक्र्यौल गर्न सकिन्छ ।

घरको सम्मुखमा सबैतिर, झ्याल वा ढोका अघिल्तिर दियो–पाला राख्नुपर्छ । काठको घरमा भने दियो पाला राख्दा सर्तक हुन जरुरी छ । यसले दुर्घटना पनि निम्त्याउन सक्छ । यद्यपि अहिले कृतिम दियो पनि उपलब्ध छ । काठको घरमा वा असुरक्षित ठाउँहरुमा कृतिम दियो अर्थात विद्युतिय दियो बाल्न सकिन्छ । तर, घर सुरक्षित भएको अवस्थामा र त्यस्तो खतरा हुने संभावना नभएको अवस्थामा दियो पाला नै राख्नु उचित हुन्छ । मैनबत्ती पनि यसको राम्रो विकल्प हो । अहिले बजारमा थरीथरी डिजाइनको मैनबत्ती उपलब्ध हुन्छ ।

घरलाई अरु आकर्षक बनाउनका लागि मूलढोका र आसपासमा तोरण पनि लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment