News Summary
Generated by OK AI. Editorially reviewed.- भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ३ अर्ब रुपैयाँभन्दा बढीको ड्राइफ्रुट्स नेपाल भित्रिएको छ।
- ओखर, काजु र बदामलगायतका प्रमुख ड्राइफ्रुट्सको आयात गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष उल्लेख्य बढेको छ।
- असोजमा तिहार लक्षित गरेर व्यापारीहरूले अघिल्ला दुई महिनाभन्दा कैयौँ गुणा बढी ड्राइफ्रुट्स नेपाल भित्र्याएका छन्।
१२ कात्तिक, काठमाडौं । अबको साता-दस दिनमा नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु हुन्छ । तर, तिहारकोे रौनक भने यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ ।
झिलिमिली बत्ती, सयपत्री र मखमली फूलको सुगन्धसँगै तिहारको अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, ‘भाइ मसला’ अर्थात् ड्राइफ्रुट्स (सुक्खा फलफूल) ।
भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि सगुनका रूपमा काजु, बदाम, पिस्ता, ओखर, छोकडा, नरिवल, अन्जिर लगायत सुक्खा फलफूलको आकर्षक प्याकेट दिने परम्परा दसकौंंदेखि चलिआएको छ ।
तर, यो अत्यन्तै मौलिक र सांस्कृतिक महत्त्व बोकेको परम्परा धान्न हामी पूर्णरूपमा विदेशी बजारमा निर्भर छौं । तिहारका लागि विश्वका कुनाकुनाबाट अर्बौं रुपैयाँ बराबरको ड्राइफ्रुट्स नेपाल भित्रिने गरेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।
असोजमै भित्रियो अर्बौंको ड्राइफ्रुट्स
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिना साउन, भदौ र असोजको विस्तृत तथ्यांक हेर्दा तिहारका लागि बजारमा कति धेरै ड्राइफ्रुट्स खपत हुन्छ भन्ने प्रष्ट हुन्छ ।
यी तीन महिना नेपालमा डेढ अर्ब रुपैयाँभन्दा बढीको ओखर, काजु र बदाम मात्रै आयात भएको छ । यसमा सुपारी, नरिवल, अन्जिर, किसमिस लगायत अन्य सबै प्रकारका नट्स र रोस्टेड आइटम जोड्ने हो भने साउनदेखि असोजसम्मको कुल ड्राइफ्रुट्स आयात ३ अर्ब रुपैयाँभन्दा माथि रहेको तथ्यांकले देखाउँछ ।
गत आव २०८२/८३ को पहिलो त्रैमासको तुलनामा यस वर्ष सबैजसो प्रमुख ड्राइफ्रुट्स आयात परिमाण र रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ ।
व्यापारीहरूले तिहार लक्षित गरेर असोज महिनामा मात्रै अघिल्ला दुई महिनाभन्दा कैयौँ गुणा बढी ड्राइफ्रुट्स नेपाल भित्र्याएका छन् ।

ओखरको माग धान्दै छिमेकी चीन र दक्षिण अमेरिकाको चिली
बोक्रासहित ओखर आयात तथ्यांक निकै उच्च छ । चालु आव तीन महिनामा १४ लाख ५१ हजार २ सय किलो ओखर नेपाल भित्रिएको छ ।
यसका लागि नेपाली आयातकर्ताले ५७ करोड ३३ लाख ३७ हजार रुपैयाँ विदेश पठाएका छन् भने सरकारले यसबाट १३ करोड ९३ लाख ६८ हजार राजस्व संकलन गरेको छ । गत वर्षको यही अवधिमा १४ लाख ३४ हजार ६ सय ६१ किलो ओखर आयात भएको थियो ।
ओखरमा चीनको एकाधिकार जस्तै देखिन्छ । गत वर्ष आयात भएको कुल बोक्रासहित ओखरमध्ये चीनबाट मात्रै १२ लाख ८२ हजार ४ सय ५१ किलो भित्रिएको थियो ।
चीनपछि नेपालमा धेरै ओखर पठाउने राष्ट्रमा दक्षिण अमेरिकी देश चिली पर्दछ । गत वर्ष चिलीबाट १ लाख ५१ हजार २ सय २५ किलो ओखर भित्रिएको थियो ।
यसबाहेक भारतबाट ९ सय १ किलो, युनाइटेड अरब इमिरेट्स (यूएई) बाट ४७ किलो, कतार २६ किलो, साउदी अरब ५ किलो र मलेसियाबाट २ किलो ओखर आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
बोक्रा नभएको (गुदी) ओखर पनि चालु आव तीन महिनामा ७४ हजार ५१ किलो आयात भएको छ, जसको मूल्य ८ करोड ६ लाख रुपैयाँभन्दा बढी पर्छ । गत वर्ष १८ हजार किलो गुदी ओखर आएकोमा त्यो सबै चीनबाटै भित्रिएको थियो ।

अमेरिकाको बदाम (आल्मन्ड) नेपालीका घरघरमा
सुक्खा फलमा अर्को महँगो फल हो, बदाम (आल्मन्ड) । चालु आव पहिलो तीन महिनामा बोक्रा नभएको बदाम ५ लाख ६ हजार ७९ किलो भित्रिएको छ, जसको खरिद मूल्य ४७ करोड ६८ लाख १० हजार रुपैयाँ बराबर छ । गत वर्ष यही अवधिमा ४ लाख २ हजार ३ सय ६८ किलो बदाम आयात भएको थियो ।
नेपालमा खपत हुने बदामको सबैभन्दा ठूलो र प्रमुख हिस्सा संयुक्त राज्य अमेरिकाबाट आउने गरेको छ । गत वर्ष पहिलो त्रैमासको तथ्यांक अनुसार आयात भएको करिब ४ लाख किलो बदाममध्ये ३ लाख ९८ हजार २ सय १२ किलो बदाम अमेरिकाबाट नेपाल भित्रिएको थियो ।
अमेरिकापछि बदाम आपूर्ति गर्ने दोस्रो देश छिमेकी भारत हो, जहाँबाट २ हजार ६ सय २५ किलो आएको थियो । यसबाहेक साउदी अरबबाट ५ सय ९८ किलो, कुवेत ४ सय ७९ किलो, कतार २ सय ७२ किलो, यूएई १ सय ३० किलो, बहराइन २९ किलो, चीन ११ किलो र ओमानबाट ११ किलो बदाम आयात भएको थियो ।
अफ्रिकी राष्ट्र क्यामरुनबाट १ किलो र मलेसियाबाट २ किलोसमेत बदाम नेपाल भित्रिएको तथ्यांकले हाम्रो बजारको विश्वव्यापी सञ्जाल देखाउँछ ।

काजुको मुख्य स्रोत भियतनाम र भारत
मिठाइ र भाइ मसला दुवैमा अत्यधिक प्रयोग हुने काँचो काजु (बोक्रा नभएको) आयात पनि चालु वर्ष उच्च छ । साउनदेखि असोजसम्म ४ लाख ६९ हजार ४ सय १६ किलो काजु भित्रिएको छ, जसको मूल्य ४६ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबर छ ।
गत वर्ष सोही अवधिमा ४ लाख ९ हजार ९ सय १३ किलो काजु भित्रिएको थियो । काजु कहाँबाट आउँछ भन्ने गत वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै दक्षिण पूर्वी एसियाली राष्ट्र भियतनामबाट आएको देखिन्छ ।
भियतनामबाट गत वर्ष पहिलो तीन महिनामा २ लाख ८ हजार ६ सय ७४ किलो काजु भित्रिएको थियो । त्यस्तै दोस्रो स्थानमा रहेको भारतबाट १ लाख ५६ हजार २१ किलो काजु आएको थियो ।
काजु आयात हुने तेस्रो ठूलो देश अफ्रिकी राष्ट्र कोटे डी आइभरी (आइभोरी कोस्ट) हो, जहाँबाट ३० हजार किलो भित्रिएको थियो । यसैगरी चीनबाट ९ हजार ८९ किलो र दक्षिण अमेरिकी देश भेनेजुएलाबाट ५ हजार १ सय ४८ किलो काजु आएको थियो ।
खाडी मुलुक कतारबाट ५ सय ९ किलो, यूएई १ सय ९९ किलो, कुवेत १ सय २४ किलो, साउदी अरब ९३ किलो र बहराइनबाट २४ किलो काजु नेपाल आएको भन्सारको तथ्यांक छ ।

रोस्टेड र साल्टेड ड्राइफ्रुट्सको बढ्दो क्रेज
पछिल्लो समय नेपाली उपभोक्तामा काँचोभन्दा पनि भुटेको र नुनिलो (रोस्टेड एन्ड साल्टेड) काजु र पिस्ताको माग अत्यधिक बढेको छ ।
प्याकेजिङ भएर सिधै खान मिल्ने यस्ता ड्राइफ्रुट्सको मूल्य पनि बढी पर्छ । चालु आव तीन महिनाको देशगत तथ्यांक अनुसार रोस्टेड काजु सबैभन्दा धेरै भियतनामबाट १९ हजार किलो आयात भएको छ, जसको मूल्य २ करोड ६१ लाखभन्दा बढी छ ।
त्यसपछि छिमेकी भारतबाट १४ हजार ९ सय १९ किलो, चीन ११ हजार ६ सय किलो, यूएई ६ हजार २ सय ३७ किलो र थाइल्यान्डबाट ३ सय ७२ किलो तयारी काजु नेपाल भित्रिएको छ ।
त्यसैगरी रोस्टेड र साल्टेड पिस्ताको बजारमा भने चीन सबैभन्दा अगाडि देखिएको छ । चालु वर्ष पहिलो त्रैमासमा चीनबाट मात्रै ८७ हजार ६ सय ५८ किलो (११ करोड ५६ लाख रुपैयाँ बराबर) तयारी पिस्ता भित्रिएको छ ।

चीनपछि इन्डोनेसियाबाट ११ हजार २ सय १ किलो, अमेरिका ७ हजार ९ सय ३८ किलो, भारत २ हजार २ सय ६५ किलो र थाइल्यान्डबाट २ सय २७ किलो रोस्टेड पिस्ता नेपाल आएको छ ।
काँचो पिस्ता (बोक्रा नभएको) भने जम्मा १ हजार ९ सय ३६ किलोमात्र आयात भएको छ । भुटेको बदाम (आल्मन्ड) भारतबाट ३ सय १६ किलो र थाइल्यान्डबाट १ सय २० किलो आएको छ ।
यी महँगा ड्राइफ्रुट्स बाहेक नरिवल, छोकडा, सुपारी र अन्जिर आयात पनि उस्तै विशाल छ । चालु वर्षको तीन महिनामा मात्रै ३२ लाख ४० हजार ५ सय किलो सुपारी (८४ करोड ७७ लाख रुपैयाँ बराबर) भित्रिएको छ ।
सुक्खा नरिवल ८ लाख ३६ हजार किलो (२१ करोड ५९ लाख रुपैयाँ) भित्रिएको छ भने सुक्खा छोकडा १ हजार ४ सय १२ किलो र फ्रेस छोकडा ६ सय ७८ किलो भित्रिएको छ । अन्जिर (फिग्स) आयात पनि ४५ हजार किलोभन्दा बढी पुगेको छ ।
कृषिप्राधान देश भनिए पनि हावापानी सुहाउँदो ओखर, बदामजस्ता फलफूलको स्वदेशमै व्यावसायिक उत्पादन गर्न नसक्दा यसरी चाडपर्वका बेला विदेशी उत्पादनको भर पर्नुपर्ने बाध्यता कायमै छ ।
प्रतिक्रिया 4