Comments Add Comment

पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास

काठमाडौं । महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ ।

छिमेकी मुलुक चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ ।

चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु मारियाना ट्रेन्चस्थित १० हजार ९०९ मिटर गहिरो भागसम्म पुगेका हुन् ।

फेन्डाउझे अर्थात् स्ट्राइभर नामक पनडुब्बी जहाजमा बसेर ३ जना चिनियाँहरु मंगलबार मारियाना ट्रेन्चको एक भागको पिँधमा अवतरण गर्न सफल भएका हुन् ।

हाइनान प्रान्तमा एक महिनाअघि उनीहरुले आफ्नो सामुद्रिक यात्रा सुरु गरेका थिए । यसअघि चिनियाँ मानव पनडुब्बी मारियाना ट्रेन्चको १० हजार १०९ मिटरसम्म पुगेको थियो र हाल उक्त रेकर्ड भंग भएको हो ।

यद्यपि मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागमा पुग्ने विश्व रेकर्ड चाहिँ अमेरिकाको नाममा छ । अमेरिकी सामुद्रिक अन्वेषक भिक्टोर भेस्कोभो सन् २०१९ को मे महिनामा १० हजार ९२७ मिटर गहिराइसम्म पुगेका थिए ।

चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार मारियाना ट्रेन्चको पिँधसम्म पुग्ने परियोजनाको मुख्य उद्देश्य समुद्रको पिँधमा रहेका महत्वपूर्ण सामुद्रिक श्रोतसाधनको अन्वेषण तथा म्यापिङ गर्नु हो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment