Comments Add Comment

सरकारले खेल गतिविधि सञ्चालन गर्न अनुमित दिएसँगै खेलाडी उत्साहित

२८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा गत चैतदेखि ठप्प रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति सरकारले दिएपछि खेलाडीहरु उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार बिहीबार मन्त्री परिषदले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका हुन् ।

लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

यसअघि नै फुटबल टिमले एक साताको प्रशिक्षण गरेर बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न ढाका पुगिसकेको छ । क्रिकेट टिमलाई पनि मंसिर १० गतेदेखि प्रशिक्षण सुरु गर्न अनुमति दिइसकेको छ ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् । शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेजबहादुर थापा मगरले मन्त्रीपरिषद निर्णयले आफूहरु खुसी भएको बताए ।

उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताइन् ।

सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै थिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए । अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लक डाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताए ।

यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यती सहज अवस्था भने छैन । फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै छन् । त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने अवस्था आएको छ ।

कोरोना महामारीपछि विश्व खेलकुद गतविधि विस्तारै सुरु हुँदा नेपालमा पनि खेलकुद चलायमान हुने आश बढेको छ । सरकारले साउन पहिलो साता लकडाउन खुला गरेपछि खेलकुदको प्रशिक्षण सुरु हुने आशा बढेको थियो । तर कोरोना संक्रमणको दर बडेपछि राष्ट्रिय खेलकुद परिषदले भदौ देखि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्दा खेलाडीहरु घरमै थुनिएर बस्नुपरेको थियो ।

अब खेलकुद प्रशिक्षणका लागि सरकारको स्वीकृति पाएपछि खेलाडीहरुले आफ्नो पुरानै दैनिकीमा फर्कने अवसर पाएका हुन् । ओलम्पिकमा प्रशिक्षण गर्ने खेलकुद, अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलकुदको प्रशिक्षण लगायत अन्य प्रशिक्षणलाई सरकारले अनुमति दिएको छ । तर अब प्रतियोगिता कहिलेबाट सुरु हुने भन्ने अझै यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment