Comments Add Comment

शिवपुरीमा एकल पुरुषलाई मासिक भत्ता   

२८ कात्तिक, त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषका लागि मासिक एक हजार भत्ता उपलब्ध  गराउने  गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । त्यसका लागि बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर मङ्सिरदेखि भत्ता उपलब्ध गराउन लागेको थापाले बताए।

यो निर्णयले ६० वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन् ।

त्यस्तै शिवपुरी गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबीबीएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए  ।

उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ ।

‘कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न सक्षम हुनेछन् भन्ने विश्वास लिएका छौँ’, अध्यक्ष थापाले भने, ‘लक्षणविहीन सङ्क्रमितलाई घरकै एकान्तबासमा राखिएको र उनीहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीमार्फत परामर्श र निगरानी थालिएको छ ।’

गाउँपालिकाले कोरोना संक्रमण भई घरकै एकान्तबास (होम आइसोलेसन) मा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाको लागि एकमुष्ठ तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

अध्यक्ष थापाका अनुसार लक्षण नभएका सङ्क्रमित घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा सन्तुलित तथा पौष्टिकयुक्त खानाको आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment