Comments Add Comment

सैनामैनाकी शान्ताको अशान्त मन

२९ कात्तिक, बुटवल । जब हरेक वर्ष लक्ष्मी पूजाको दिन आउँछ, छर- छिमेकमा खुशीयाली छाउँछ । तर रुपन्देही सैनामैनाकी शान्ता कुँवरको मन पीडै पीडाले अशान्त बन्छ ।

२०६७ साल कात्तिक १९ गते लक्ष्मी पूजाको साँझ घरमा लक्ष्मी पूजाको तयारी हुँदै थियो । सैनामैना झारबैराका दिलिप कुँवर श्रीमती शान्तालाई साथीले लगेको आफ्नै मोटरसाइकल लिएर आधा घण्टामा आउँछु र पूजा गरौंला भन्दै घरबाट मुर्गियातिर गए । आधा घण्टाका लागि भनेर हिँडेका दिलिप लक्ष्मी पूजा गर्न त आएनन् नै, अझै वेपत्ता छन् ।

घरको मूली जिउँदो छन् वा मृत भन्ने यकिन नहुँदा श्रीमती शान्तासहित उनको परिवारलाई पीर-चिन्ताले सताउने गरेको छ । त्यसमाथि हरेक वर्षको लक्ष्मी पूजाको दिन त कुँवर परिवारका लागि पीडादायक हुन्छ । ‘बुटवलका डीएसपीले चिन्ता नगर्नुस्, पन्ध्र दिनमा जिउँदो-मर्दो थाहा हुन्छ भनेका थिए, तर अहिलेसम्म कुनै अत्तो पत्तो छैन’ दिलिपकी श्रीमती शान्ताले रुँदै भनिन्, ‘कमसेकम कि सास कि लाश देख्न पाए हुन्थ्यो ।’

दिलिप कुँवर

त्यतिबेला बुटवलमा दानबहादुर कार्की डीएसपी थिए । वेपत्ता भएका दिलिप नेपाल प्रहरीका पूर्व असई एवं कुटानी पिसानी गर्ने मिल व्यवसायी थिए । आफू श्रीमान् जिवितै हुनुहोला कि भन्ने आशामा बसेको तर प्रहरी प्रशासनले खोजीमा चासो नदेखाएको शान्ताको गुनासो छ ।

‘प्रहरीले चासो लिएर खोज्ने हो भने १२ वर्षअघिका घटनाको पनि सत्य-तथ्य बाहिर आउँदोरहेछ’ रौतहटको इट्टाभट्टीमा भएको हत्या काण्डको उदाहरण दिँदै उनले भनिन्, ‘ठूलाबडा मान्छेको आफन्त हराएको भए पत्ता लागिसक्थ्यो होला, हामीलाई वास्ता गरिएन ।’

दिलिपका ससुरा मिनबहादुर रायमाझीले पनि ज्वाइँको खोजी गरिदिन गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायमा निवदेन दिएपनि चासो नदिइएको गुनासो गरे । रायमाझीले दिलिप वेपत्ता हुनुमा सैनामैनाका नेपाली कांग्रेसको नेतृत्व लगायतको संलग्नता रहेको आशंका परिवारलाई भएपनि राजनीतिक संरक्षणका कारण अनुसन्धानमा चासो नदिइएको आरोप लगाए ।

२०६६ सालको तिहारमा सैनामैनाका कांग्रेसका नेताहरुसँग दिलिपको झगडा भएको र बुटवलबाट मान्छे बोलाएर कुटपिट भएकाले त्यससँगै जोडेर अनुसन्धान गर्न रायमाझीले माग गरेका छन् । ‘यो घटनामा राजनीति जोडिएको छ, त्यही हिसाबले महत्व दिएर अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ’ रायमाझीले भनेका छन् ।

दिलिप त्यतिबेला माओवादी कार्यकर्ता थिए । स्थानीय पर्रोहा माविको व्यवस्थापन समितिमा कांग्रेस नेता अध्यक्ष र दिलिप सदस्य रहेकाले त्यसलाई पनि जोडेर अनुसन्धान हुनुपर्ने रायमाझीको माग छ । कुँवर हराएको दिन दिउँसो उनकै घरमा आएर मोटरसाइकल लगेका स्थानीय तेजबहादुर भण्डारीको भने दुई वर्षअघि मृत्यु भइसकेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले यो घटनाबारे आफूले मिसिल रेकर्ड अध्ययन गर्ने क्रममा रहेको र अनुसन्धान जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment