Comments Add Comment

लक्ष्मी पूजामा अपेक्षाभन्दा कम विद्युत खपत

३० कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका शाक्यले यस्तो बताएका हुन् ।

‘लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुने र त्यो समयमा विद्युत माग पनि अत्याधिक हुने भएकाले त्यसको व्यवस्थापनका लागि भार प्रेषण केन्द्रको कन्ट्रोल रुममै रहेर हाम्रो टिम व्यवस्थापनमा खट्यो,’ शाक्यले भने ।

उनले अघि भने, ‘हामीले पिक आवरमा बढीमा ११ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब ११ सयको वरिपरिमात्रै खपत भयो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन सबैले झिलिमिली बत्ती बाल्ने वातावरण निर्माण भयो । हामी खुशी छौँ ।’

उनले अघिल्लो वर्ष पिक आवरमा ११ सय २८ मेगावाट विद्युतको माग भएको भन्दै त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरेको जानकारी दिए ।

‘अघिल्लो वर्ष लक्ष्मी पूजाको साँझ पिक आवरमा ११ सय २८ मेगावाट विद्युत माग भएको थियो । हामीले त्यसैलाई आधार मानेर ११ सय १० देखि ५० सम्मको अपेक्षासहित थप २ सय मेगावाट रिजर्भमा राखेका थियौँ,’ उनले भने ।

उनले आगामी दिनमा पनि अब लोडसेडिङको समस्या नहुने दाबी गरे । प्राविधिक कारणले फिडर, ट्रान्सर्फरमरलगायतमा भएको समस्यालाई तत्काल समाधान गर्न सकिने बाहेक अरु समस्या नहुने उनले बताए । ‘त्यसका लागि हामीले ‘नो लाइट’ टिमलाई तयारी अवस्थामा राखेका छौँ । त्यो टिम तत्काल परिचालन गरी समस्या समाधान गर्न सक्छौँ,’ उनले भने, ‘अब मेरो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने छ । राष्ट्रिय विद्युत् प्रसारणलाइन (ट्रान्समिसनलाइन) निर्माण पनि मेरो प्राथमिकतामा छ ।’

उनले आफुले पाएको जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रुपमा समेत ग्रहण गरेर अघि बढ्ने बताए । ‘अहिलेको चुनौती भनेकै गुणस्तर बढाउने हो,’ उनले भनेे, ‘केही समय हामीले अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ । त्यसपछि विस्तारै हामी विद्युतमा आत्मनिर्भर हुन्छौँ ।’

मन्त्री पुनले पनि धेरै मेहनत गरेर नयाँ कार्यकारी निर्देशक र भार प्रेषण केन्द्रका कर्मचारीले तिहारको लोड व्यवस्थापन गर्न सफल भएको भन्दै धन्यवाद दिए ।

भार प्रेषण केन्द्रका प्रमुख प्रणाली सञ्चालन विभागका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दीपावलीको लक्ष्मी पूजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको बताए ।

‘एनइएको ५२०, आईपीपी ४६० डीएम इम्पोर्टबाट ५०, टनकपुरबाट ३०, कटैयाबाट ६० मेगावाट इम्पोर्ट गरेर व्यवस्थापन तयारी गरेका थियौँ,’ उनले भने, ‘योभन्दा २ सय बढी लोड आएको भए पनि हामी सजिलै व्यवस्थापन गर्न सक्ने अवस्थामा थियौँ । हामीसँग सप्लाई जति धेरै थियो त्यो अनुसारको डिमाण्ड आएन । जसका कारण हामी सजिलै व्यवस्थापन गर्न सफल भयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment