Comments Add Comment

कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव

२ मङ्सिर, पर्वत । पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ ।

पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् ।

नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो ।

कुश्मा नगरपालिकाबाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताए ।

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् ।

नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई रु १०/१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

पाँच शय्या क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर) सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताइन् ।

अधिकांश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ । स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment