+
+
Shares

मंसिर लाग्दा पनि गोरखाका सुन्तला हरियै

विकास मरहट्टा विकास मरहट्टा
२०७७ मंसिर ४ गते १४:५५

४ मंसिर, गोरखा । यसबर्ष गोरखामा सुन्तला उत्पादनमा ढिलाइ भएको छ । पाक्ने बेलामा समेत सुन्तला हरियै रहेको किसानहरुले बताएका छन् ।

‘अघिल्लो बर्ष यतिबेला ६–७ गाडी सुन्तला बेचिसकेका हुन्थ्यौ,’ गोरखा नगरपालिका–१४ भट्टवेशीकी कृषक निर्मला थापाले भनिन्, ‘तर अहिले सुन्तलामा कलर पनि आएको छैन, हरियै छ ।’

सुन्तला पाक्न अझै केही हप्ता लाग्ने उनले बताइन् । वर्षायाममा बर्षात बढी भएका कारण पाक्न ढिलाइ भएको उनको अनुमान छ ।

यस बर्ष सुन्तला टिप्न ढिलाइ हुँदा अर्काे बर्षको उत्पादनलाई समेत असर गर्ने उनी बताउँछिन् । ‘ढिलो पाकेपछि टिप्न ढिलो हुन्छ, चाँडै टिप्दा बोटलाइ पनि राम्रो हुन्थ्यो, गोडमेल गर्न चाडै पाउथ्यौं अनि फूल चाडै फुल्थ्यो र फल प्रशस्त लाग्थ्यो,’ उनले भनिन् ।

असोज पहिलो हप्ता पाक्ने उन्सु जातको सुन्तला पनि अहिलेसम्म हरियै रहेको गोरखा नगरपालिका–३ नारेश्वरका सुन्तला कृषक निर्मलबाबु श्रेष्ठ बताउँछन् । ‘अहिलेसम्म कलर राम्रोसँग आएको छैन हरियै छ,’ उनले भने, ‘अझै पाक्न केही दिन लाग्छ ।’

बजारमा पनि अहिले भारतबाट आयात गरिएको सुन्तला बिक्री वितरण भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले बताए ।

‘यो समयमा बजारमा नेपाली सुन्तला हुनुपर्ने हो तर अधिकांश ठाउँमा भारतबाट ल्याएको सुन्तला छन्, पाक्न ढिला हुँदा सुन्तला बोटमै छन् बजारमा आएको छैन,’ उनले भने ।

बढी बर्षात भएका कारण पाक्न ढिला भएको कृषि अधिकृत पौडेलले बताए । ‘अमिलोपना गलियोमा परिणत हुन र सुन्तला पाक्न बढी तातो चाहिन्छ, तर यो बर्ष पानी बढी पर्‍यो, घाम राम्रोसँग लाग्न पाएन, त्यसैले तापक्रम नपुगेर वृद्धि विकास कम भयो अनि पाक्न ढिलाइ भएको हो,’ उनले भने ।

विगतका वर्षमा कात्तिक दोस्रो हप्तामा सुन्तला पाकेर खाने बेला भइसक्थ्यो ।

कार्यालयका अनुसार गत बर्ष जिल्लामा करिव २ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस बर्ष उत्पादनमा वृद्धि नहुने कार्यालयले जनाएको छ ।

गोरखाको मनकामना, ताङ्लीचोक, मास्कीछाप, ताप्ले, भट्टवेशी, फिनाम, नारेश्वर लगायतका क्षेत्र सुन्तलाका पकेट क्षेत्र मानिन्छ । गोरखामा उत्पादित सुन्तलाको मुख्य बजार काठमाडौ, पोखरा, नारायणगढ रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?