Comments Add Comment

रजिस्टार, स्रेस्तेदार र तहसिलदारको राष्ट्रिय सम्मेलन हुँदै

४ मंसिर, काठमाडौं । न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन मंसिर ८ र ९ गते भर्चुअल प्रविधिका माध्यमबाट हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गर्ने र दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयामहरुमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने सर्वोच्च अदालतले जनाएको छ ।

सम्मेलनको छलफल सत्रमा उच्च अदालतका रजिष्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिष्ट्रार, स्रेस्तेदार तथा तहसिलदारहरुको भूमिका र दायित्वमा देखिएका समस्या र समाधानका विषयमा छलफल हुनेछ । जिल्ला अदालत र उच्च अदालतमा लागू भएको फरक मुद्दा ब्यवस्थापन पद्धति कार्यान्वयनका विषयमा पनि उक्त सम्मेलनमा छलफल हुनेछ ।

त्यस्तै न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिता, फैसला कार्यान्वयनमा देखिएका समस्या र चुनौती तथा भावी कार्यदिशाका बिषयको कार्यपत्रमाथि पनि छलफल हुनेछ ।

सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, रजिष्ट्रारहरु लालबहादुर कुँवर, नारायणप्रसाद पन्थी, सहरजिष्ट्रारहरु तथा उच्च अदालतका रजिष्ट्रारहरु, उपत्यकामा रहेका विभिन्न न्यायाधिकरणका रजिष्ट्रार तथा स्रेस्तेदार, जिल्ला अदालतका स्रेस्तेदार र तहसिलदारहरु सहभागी हुनेछन् ।

यस्तै रुपमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनबाट १/१ जना पर्यवेक्षक र सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका ३ जना पर्यवेक्षक सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment