Comments Add Comment

नेम्वाङसँग प्रचण्डले भने : एकताको डोरी चुँडिएको छैन

५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको डोरी चुँडिनसकेको बताएका छन् ।

केन्द्रीय मुख्यालय धुम्बाराहीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा उनले पार्टी एकताको डोरी नचुँडिएको र आफू एकता जोगाउन तयार रहेको पनि बताए ।

नेम्वाङले पार्टी एकता जोगाउन पहल लिन प्रचण्डसँग आग्रह गरेका थिए । भेटपछि नेम्वाङले अनलाइनखबरसँग भने, ‘अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भयो, उहाँले प्रष्ट भाषामा एकता जोगाउन तयार रहेको बताउनुभएको छ ।’

नेम्वाङले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताएका थिए । निकै लामो भूमिका सहित नेम्वाङले प्रचण्डसँग सहमतिका लागि तयार रहन आग्रह गरेका थिए ।

‘तपाईंहरु दुवै (दुई अध्यक्ष)को सहमतिमा कार्यदल हुँदै स्थायी कमिटीबाट निर्णय भएको छ, त्यही सहमतिको आधारमा अगाडि बढौं’, नेम्वाङको प्रस्ताव थियो । संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने पनि नेम्वाङले बताए ।

नेम्वाङसँगको कुराकानीमा प्रचण्डले पार्टीमा अहिले अलिक बढी नै समस्या आएको बताएका थिए । तर, यो संकट समाधान गर्नै नसकिने चाहिँ नभएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले शुक्रबार नै महासचिव विष्णुप्रसाद पौडेलसँग पनि धुम्वाराहीमै भेटवार्ता गरेका थिए । पौडेलले पनि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमार्फत् पार्टी विवाद हल गर्ने भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेका थिए ।

दश दिनयता ओली र प्रचण्ड बीच संवाद टुटेको छ । कात्तिक २५ मा केहीबेर ओली–प्रचण्डबीच बालुवाटारमा कुराकानी भएको थियो । त्यसपछि ‘वान अन वान’ भेटवार्ता हुन सकेको छैन । कात्तिक २८ र मंसिर ३ मा सचिवालय बैठकमा भेट भएपनि अनौपचारिक भेटवार्ता रोकिएको छ ।

दुई अध्यक्ष बीच विवाद बढ्दै जाँदा प्रचण्डले सचिवालय बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् भने अब मंसिर १३ हुने बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment