Comments Add Comment

एउटा जङ्गलको एउटा कथा

(यो कुनै जङ्गलको कथा हो। शहरका मान्छेसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।)

एकादेशमा एउटा जङ्गल थियो । त्यहाँ एउटा बाघ र एउटा स्याल पनि बस्थे । बाघ बुढो नभए पनि निकै थकित थियो। यद्यपि उसको आवाज भने कडा थियो । उसका दाह्रा,पञ्जा,नङ्ग्रा सबै दुश्मन भनिएकाहरूले झिकिसकेका थिए । बाँकी रहेका नङ्ग्रा, दाह्रा पनि काम नलाग्ने पत्रु भैसकेका थिए । अथवा यसो भनौं- ती काम नलाग्ने भनेरै छाडिएका थिए । त्यसैले शिकारका लागि उपयोगी थिएनन् ।

एकदिन बाघ र स्याल दुबैले एउटा मस्तको शिकार देखे। बाघले एक्लै आँट्न सकेन । स्यालले पनि आँट्न सकेन । भलै बलबुता र तुजुक बाघको भन्दा स्यालको बढी थियो ।

दुबै मिलेर आँट गर्दा त्यो शिकार हात पार्न सक्ने देखियो । त्यसैले ती दुबै मिले । आधा आधा खाने सहमतिका साथ शिकारीय सम्झौता भो । यस्तो शिकारीय सम्झौता दोस्रो थियो ।

पहिला झैं स्यालले भन्यो- `पहिला म आधा खान्छु, त्यसपछि तपाईं आधा खाने । मन्जूर ?´

बाघ सोचमग्न भयो । किनभने, दुई चार दिनअघि पनि स्यालले यस्तै भनेर आधा शिकार खाइसकेपछि लफडा गरेको थियो । र, पहिलो शिकारीय सम्झौता भङ्ग भएको थियो । त्यसपछि बाघको पालो ब्वाँसोसँग खुशामद गरेर स्याललाई धपाएको थियो । र, त्यो शिकार ब्वाँसोसँग बाँडेर खाएको थियो । त्यसपछिका दिनमा उसको ब्वाँसोसँग पनि खासै राम्रो सम्बन्ध बनेन ।

तर, आज बाघले स्यालको आधा–आधा प्रस्तावमा रत्तिभर कपट देखेन । शायद स्याल स्वयंले वा अरू कसैले धोका हुँदैन भनेर आश्वस्त पारेको थियो। यदि कपट देखेकै भए पनि बाघसँग अरू विकल्प थिएन । मन्जूर नभने भोकै बस्नुपर्ने वाध्यता थियो।त्यसैले मञ्जूर भन्यो । दुवै मिलेर शिकार गरे ।

शर्त अनुसार स्यालले शुरूमा आधा खायो । भनौं- शिकारको राम्रो राम्रो, मीठो मीठो, क्वालिटीको भाग सबै उसैले स्वाद लिईलिईकन खायो । बाघ भने घुटुघुटु थुक निल्दै आशापूर्वक व्यग्रताकासाथ बसिरह्योl हेरिरह्यो । जब आधा शिकार स्यालले सिध्यायो तब बाघले भन्यो- `छोड् अब म खान्छु ।´ स्यालले अचम्म मान्यो । र बाघलाई यसरी हेर्यो मानौं भर्खरै कतैबाट टुप्लुक्क आएर स्यालको शिकार खोस्न आएको हो । शायद मस्तसँग खाइरहेको धूनमा उसले जगतै बिर्सेको पनि हुनसक्छl स्याल अघाएको पनि थिएन । परिणामत: उसले बाँकी शिकार दिन मानेन । बाघको भोकको घनत्व बढ्दो थियो । त्यसमाथि आधा आधाको शिकारीय सम्झौता पनि मौजूद थियो । बाघले पनि छोड्ने कुरै भएन । व्यापक ङारर्ङुर, वादविवाद, भनाभन, तथानाम भो । चिथोराचिथोर र हानाहान चाहिँ भएन ।

शिकार अरूले खाने वा खेर जाने सम्भावना बढिसक्यो । तर, दुबैले छोड्न मानेनन्। यत्तिकैमा अर्को स्याल आयो । र, दुबैको झगडाको कारण सोध्यो । दुवैले बेलीबिस्तार लगाए। नयाँ स्यालले मध्यमार्गी भन्दै एउटा उपाय सुझायो- `बाँकी रहेको शिकार अब दुबैले आधा आधा खाने ।´ स्यालका लागि त यो प्रस्ताब गज्जबको नै भो । बाघ पनि झगडा गरिबस्नु भन्दा अन्यायपूर्ण भएपनि यो उपाय नै ठीक होला भन्दै यसैमा राजी भयो । तर, यसपटक पहिला कसले खाने भन्ने विवाद घनीभूत भयो । शायद पटकपटक धोका पाएकाले हुनुपर्छ, बाघले यो विवाद बढायो । बाघले भन्यो- `अबचाहिं म पहिला खान्छु ।’

तर, स्यालले मानेन । उसले दुईटा तर्क पेस गर्यो । पहिलो, `शिकारीय सम्झौताको बूँदा नम्बर दुईमा शुरूमा मेरो पालो भनिएको छ ।´ दोस्रो, `मेरो एकल बुता र शक्तिले मात्रै यो शिकार हात लागेको हो । दाह्रा नङ्ग्रा बिनाको बाघको केही पनि रोल छैन । उसको छाला देखेर मात्र शिकार अलिकति डराएको हो ।´ उसले थप्यो- ‘यसरी जानाजान मैले शिकार बाघलाई दिएँ भने शिकारको अपमान हुन् जान्छ ।’

विवाद बढिरहेकै थियो । दुवै टसको मस भएनन् ।

यत्तिकैमा एउटा काइदाको हरिण अलि पर दृष्टिगोचर भयो । मजाले चरिरहेको वयस्क हरिण स्याल र बाघ दुबैले देखे । तर, यो शिकार पनि एक्लाएक्लैको पहलले हात लाग्ने टाइपको थिएन । स्याललाई तत्कालै नयाँ आइडिया फुर्‍यो । र, तुरुन्तै भन्यो- `हेर्नुस् बाघ दाजै, ऊ त्यो परको हरिण छ नि, त्यो पनि अब दुई भाइ मिलेर हात लगाउनुपर्छ । अनि त्योचाहिँ जम्मै तपाइँकै एकलौटी । अहिलेलाई मैले खाँदै गरेको यो शिकारचाहिँ ढुक्कै मलाई खान दिनुस् । अघाएपछि म अलिक तगडा पनि हुन्छु, अनि फेरि मिलिजुली शिकार गरौंला । हुन्छ?´

नयाँ शिकार देखेर बाघ त्यसै-त्यसै लोभियो । त्यसमाथि स्यालका तर्क पनि सदा झैं उम्दा लागे उसलाई । अझ महत्वपूर्ण कुरो त यसै पनि अब स्यालले पुरानो शिकार सुँघ्न नदिने छनक दिइसकेको थियो बाघलाई । त्यसैले बाघले स्यालको यो प्रस्ताव मान्यो । खै किन हो कुन्नि यसपटक भने शिकारीय सम्झौता भने भएन ।

बाघ विवश थियो । अब स्यालले बाँकी रहेको शिकार खान शुरू गर्‍यो।स्यालले शिकार खाइरह्यो । बाघले स्याललाई हेरिरह्यो । किनभने, ऊ यतिखेर हेर्नलाई अभिशप्त थियो । स्यालले खाइसकेपछि बाघले ढुक्कका साथ भन्यो-`ल हिँड् अब ! त्यो नयाँ शिकार मार्न जाउँ ।´

`एएए त्यो शिकार ! म अघाइसकें । मलाई खानै मन छैन । तपाइँ आफ्नो शिकार आफैं मार्नू, आफैं खानू ल ।´

ढ्याउऽऽऽऽ गर्दै स्यालले टिमुर्किएर जवाफ दियो अनि आफ्नो बाटो लाग्यो । बाघ भने भोको पेट छाम्दै स्यालले छोडेको रहलपहल हाडखोर र पर चरिरहेको हरिण हेरेर चित्त बुझाउँदो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

ट्रेन्डिङ

Advertisment