Comments Add Comment

नेकपा फुटे ओलीको अहम् र अध्यादेशले फुट्छ, नत्र फुट्दैन : पाण्डे

‘आफू जता कुद्यो, उतै भीड लाग्छ भन्ने ओलीलाई भ्रम छ’

फाइल तस्वीर

८ मंसिर, पोखरा । चितवनमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोलिएको तरंग पोखरामा पनि आयो ।

कार्यक्रमकै बीच भएको नाराबाजीका पक्ष, विपक्षमा बाँडिएर अभिव्यक्ति आइरहेका बेला उनै नेता पाण्डे आइतबार पोखरा आइपुगे । पोखरामा माधवकुमार नेपाल गुटका केही नेता, कार्यकर्ताको भेलामा सुटुक्क सहभागी बने । अहिलेको विवादको चुरो र अवस्थाबारे कार्यकर्ताबीच धारणा राखे ।

पोखरा लेकसाइडस्थित माउण्ट कैलाश होटलमा करिब ३५/४० जनाको उपस्थितिमा भएको भेलामा पाण्डेले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको बताए । नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको उनले बताएको भेलामा सहभागी एक नेताले अनलाइनखबरलाई सुनाए ।

पाण्डेले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको बताएका थिए । ‘अहिले नेता, कार्यकर्ता, विद्यार्थी, युवा, मजदुरमा पार्टी विभाजन के होला भन्ने छ । अहिलेकै अवस्थामा सजिलो प्रक्रियाबाट पार्टी फुट्दैन,’ लेकसाइडस्थित भेलालाई सम्बोधन गर्दै पाण्डेले भने, ‘४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद नभएसम्म पार्टी फुट्दैन । यति ओलीसँग छैन । पार्टी फुटे ओलीले अध्यादेशमार्फत फुटाउने हो ।’

आफूहरु पार्टी एकताको पक्षमा रहेको पाण्डेको भनाइ छ । अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने पाण्डेले बताए । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ छ ।

जनताको बहुदलीय जनवाद मान्ने कि नमान्ने विषयमा विवाद भएको धेरैलाई लाग्ने गरेको बताउँदै पाण्डेले त्यस्तो नभएको बताए । हिजो जबज मान्नेकै बीचमा झगडा र प्रतिस्पर्धा भएको बताउँदै अहिले त्यो बहसको विषय नै नभएको उनको भनाइ थियो

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग ओलीको कुरा हुँदा सल्लाहले पार्टी फुटाउनुस् भनेको पाण्डेले कार्यकर्तालाई सुनाए । सल्लाहले पार्टी एकता गर्ने र सल्लाहमै पार्टी फुटाउने कुरा हुन नसक्ने उनको भनाइ थियो ।

‘कसैले बच्चा जन्माएपछि, होइन मन परेन भनेर पेटमा फर्काएर राख्छु भन्न मिल्छ,’ पाण्डेले भने, ‘पार्टीको पनि त विधि र प्रक्रिया हुन्छ होला नि ।’ पार्टीबाट निर्वाचित प्रधानमन्त्री गलत ढंगले चलेको बताउँदै पाण्डेले पार्टी विभाजन हुन प्रक्रियाले पनि नदिने भनाइ राखे ।

आउँदो चुनावमा गत चुनावमा गरेको भाषण सिकार !

सरकारले आफ्नो कामको समीक्षा गर्नपर्छ भनेर आफूहरुले भनेको पाण्डेले बताए । व्यवस्था नै परिवर्तन भइसकेको अवस्थामा हिजोकै कुरा गरेर नहुने उनको भनाइ थियो । सरकारले नयाँ कुरा गर्न सक्यो कि सकेन भन्ने हेर्नुपर्ने पाण्डेले बताए ।

‘अब कसैले खानकै लागि केही पनि गर्न पर्दैन, ७६ सालमा ठ्याक्क रेल आउँछ भनेर भाषण गर्ने,’ पाण्डेले भने, ‘अब ७९ सालमा त चुनाव हुन्छ होला, त्यो बेला जवाफ दिनु पर्दैन ?’ त्यही भाषणको भिडियो क्लिप जोडेर विपक्षीले ओलीलाई शिकार बनाउन सक्ने उनको भनाइ थियो ।

कोरोनाले यो वर्ष पनि कति काम हुन्छ भन्ने एकिन नभएको अवस्थामा सरकारले राम्रोसँग काम गर्नुपर्छ भनेर आफूहरुले भनेको पाण्डेले बताए । ‘केपी कमरेडमा धेरै नै अहम् छ, म जता जान्छु, त्यसै मान्छे कुद्छन् भन्ने छ । त्यो सत्य होइन,’ पाण्डेले कार्यकर्तासामु भने, ‘यो भोटै मलाई हेरेर आएको हो भन्ने भ्रम छ उहाँलाई ।’

पर्टी र सरकारमा ओलीको योगदानलाई कसैले इन्कार नगरेको बताउँदै पाण्डेले थपे, ‘तर, हामीले नै उहाँ नै सबथोक हो भन्दै उफ्रिएर झन् घमण्डी बनाइदिन्छौं ।’

पूर्व माओवादीलाई सँगै लैजाने र ओलीलाई पनि सत्यको बाटोमा ल्याउने सामर्थ्य आफूहरुमा मात्र भएको र त्यो अभिभारा पनि रहेको पाण्डेले बताए । दाउपेच, तिकडमबाजी र प्रतिरोधबाट पार्टी नचल्ने उनको भनाइ छ ।

विवादको कारण जबज होइन

जनताको बहुदलीय जनवाद मान्ने कि नमान्ने विषयमा विवाद भएको धेरैलाई लाग्ने गरेको बताउँदै पाण्डेले त्यस्तो नभएको बताए । पाण्डेले भने, ‘एकता गर्दा नै समाजवाद उन्मुख जनताको बहुदलीय जनवाद र अरु बहस महाधिवेशमा गर्ने भनेका हौं नि । जबज झगडाको मूल विषय हुँदै होइन ।’

हिजो जबज मान्नेकै बीचमा झगडा र प्रतिस्पर्धा भएको बताउँदै अहिले त्यो बहसको विषय नै नभएको उनको भनाइ थियो । ‘ओलीले कहिले जबज मान्नेहरु मिलौं भन्ने, कहिले पूर्वएमाले मिलौं भन्ने र कहिले प्रचण्डलाई गएर पार्टी एकता हामीले गरेका हौं, हामी मिल्नुपर्छ भन्ने ?’ पाण्डेले भने, ‘पहिलेका महाधिवेशनमा पनि यस्ता विवाद त थिए भने अहिले जबज मान्ने–मान्ने मिलौं भन्ने हुँदैन ।’ संगठन एक प्रकारको तर विचार अर्को प्रकारको बोकेर पार्टी नचल्ने उनको भनाइ थियो ।

अहिलेको विवाद पदको बाँडफाँट र लेनदेनमात्र भएको धेरैलाई भ्रम रहेको उनले बताए । अहिलेको प्रश्न कस्तो संस्कृतिमा पार्टी हुर्काउने भन्ने भएको उनको भनाइ थियो । ओलीसँग अघिल्लो पटक कुरा हुँदा मनपरी रोक्नुपर्यो भन्ने कुरा भएको पाण्डेले बताए ।

‘गुटबन्दीले प्रश्रय पायो’

विधि, विधान र मापदण्डभन्दा पनि पार्टीमा गुटबन्दी मौलाएको पाण्डेको भनाइ थियो । विभिन्न फाउन्डेसन, विद्यार्थी तथा युवा संगठन र नियुक्तिका नाममा विधि र मापदण्ड मिचिएको पाण्डेले बताए ।

विधि, मापदण्ड ख्याल गरौं, सबैको सम्मान गरौं, पार्टी एकतालाई बल दिऔं भन्दा अध्यक्ष तथा प्रधानमन्त्रीले एकलौटी गरेको पाण्डेको भनाइ थियो । ‘अस्तिको कार्यदलमा पार्टीको निर्णयअनुसार सरकार चल्ने, अब नियुक्ति पार्टीको निर्णय अनुसार गर्ने भनिएको हो, त्यो पनि भएन,’ पाण्डेले भने, ‘फाउण्डेसनहरु पार्टीको एकताभन्दा झगडा र गुट निर्माणको आधार बन्यो ।’

यो पनि पढ्नुहोस ‘नेकपा फुट्दा देश बर्बाद हुँदैन, सरकार ढल्यो भने अर्को बन्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment