Comments Add Comment

अक्सफोर्ड युनिभर्सिटीको खोप ७० प्रतिशत प्रभावकारी

Photo Credit : OXFORD UNIVERSITY/JOHN CAIRNS

८ मंसिर, काठमाडौं । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहरकेो कोरानो भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी देखिएको छ । युनिभर्सिटीले सार्वजनिक गरेको अन्तिम चरणको मानव परीक्षणमा यो खोप ७० प्रतिशत प्रभावकारी पाइएको हो ।

यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले निर्माण गरिरहेको कोरोना खोप संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी रहेको नतिजा सार्वजनिक गरिएको थियो । यद्यपि अक्सफोर्डले निर्माण गरेको खोप अन्य दुई खोपको तुलनामा निकै सस्तो र स्टोर गरेर राख्न पनि सजिलो हुने किसिमको छ । साथै नियामकले यसलाई कोरोना खोपको रुपमा मान्यता दिए, महामारी नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेषज्ञहरुले बताएका छन् । यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसको माध्यमबाट पाँच करोड मानिसलाई खोप दिन सकिन्छ ।

यो खोपको अन्तिम चरणको मानव परीक्षणमा ब्राजिल र बेलायतका गरी २० हजार स्वयंसेवकहरु सहभागी थिए । यी मध्ये आधालाई कोरोनाको खोप दिइएको थियो भने आधालाई डमी खोप दिइएको थियो । दुई खोपको डोज पूरा भएपछि गरिएको अध्ययनमा कोरोना खोप लिएका ३० जना मानिसमा संक्रमण देखिएको थियो भने डमी खोप दिइएका १०१ जनामा संक्रमण देखिएको थियो ।

अनुसन्धानका अनुसार स्वयंसेवकहरुलाई दुई ‘हाइ’ डोजको खोप दिँदा यसले ६२ प्रतिशत सुरक्षा दिएको पाइएको थियो । तर, ‘लो’ डोज खोप दिइएका मानिसमा भने संक्रमणको सुरक्षा ९० प्रतिशत रहेको पाइएको थियो ।

अक्सफोर्डको खोप नेपालमा सजिलै भण्डारण गर्न सकिने

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले घरेलु कम्पनी एक्स्ट्रजेनेकासँग मिलेर विकास गरिरहेको कोरोना खोप नेपालमा सजिलै भण्डारण गर्न सकिने पाइएको छ । अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो खोपलाई ‘फ्रिज तापक्रम’ (२-८ डिग्री सेल्सियस) मा भण्डारण गरेर राख्न सकिन्छ ।

यसअघि खोप बनिसकेको अवस्थामा पनि नेपालमा त्यसको भण्डारणमा समस्या हुन सक्ने आशंका देखिइरहेको अवस्थामा सामान्य खोप भण्डारण गरेर राख्न सकिने अक्सफोर्ड युनिभर्सिटीको खोपको परीक्षण सफल भएको नतिजा सार्वजनिक भएको हो । साथै अहिले बजारमा उपलब्ध उपकरणहरुको माध्यमबाट नै यो खोप वितरण पनि गर्न सकिन्छ ।

यसअघि परीक्षणमा सफल देखिएका अमेरिकी कम्पनीहरु फाइजर र मोडर्नाको खोप भण्डारणको लागि भने निकै चिसो तापक्रम आवश्यक पर्ने कम्पनीहरुले बताएका थिए । फाइजरको खोप भण्डारणको लागि करिब माइनस ७० डिग्री सेल्सियसको तापक्रम आवश्यक पर्छ । त्यस्तै मोडेर्नाले भने आफ्नो खोप भण्डारणको लागि करिब माइनस २० डिग्री सेल्सियसको तापक्रम आवश्यक पर्ने बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment