Comments Add Comment

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

८ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ तारिक अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् ।

पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको बताएको छ ।

भ्रमणको पहिलो दिन दुई देशका परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । सोही दिन श्री‌ंगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको दौरानमा उनले नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाट गर्नेछन् । भेटमा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।’

भारतीय विदेश मन्त्रालयले यो भ्रमण परम्परादेखि उच्च तहमा हुँदै आएको भ्रमण आदान प्रदान र भारतको नेपालसँगको उच्च सम्बन्धको निरन्तरता भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘भारत र नेपालको बीचमा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । पछिल्लो समयमा दुईपक्षीय सम्बन्ध सुदृढ भएको छ । भारतको सहयोगमा धेरै पूर्वाधार र सीमापार परियोजनाहरु संचालन भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment