
काठमाडौं । सिंगापुरलाई विश्वका समृद्ध तथा विकसित देशमध्ये अग्रपंक्तिमा मानिन्छ । तर त्यही समृद्ध मुलुक सिंगापुरमा प्रजातन्त्र तथा वाक् स्वतन्त्रताको अवस्था कस्तो रहेछ भन्ने कुरा हालैको एक घटनाले देखाएको छ ।
स्माइली अनुहारयुक्त चित्र सहितको कार्ड बोकेर एक्लै प्रदर्शन गरेका एकजना युवकमाथि त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
४० वर्षका जोलोभान ह्वाम नामका ती युवकले स्माइली फेसयुक्त कार्ड बोकेर पुलिस स्टेसन बाहिर उभिएर मौन प्रदर्शन गरेका थिए ।
गत विहीबार भएको यो घटनामा प्रहरीले सोमबार अदालतमा मुद्दा हाल्नेछ ।
सिंगापुरमा जलवायु परिवर्तन विरोधी अभियानकर्ताको समर्थनमा ह्वामले गत मार्च महिनामा समेत प्रदर्शन गरेका थिए । सिंगापुरमा एकजना जलवायु अभियन्तालाई प्रहरीले पटक–पटक पक्राउ गर्दै छाड्ने गरेको छ ।
सिंगापुरमा यो वर्ष मानव अधिकार अभियन्ताहरुलाई सरकारले पक्राउ गरेर जेलमा हालेका दुईवटा घटना सार्वजनिक भैसकेका छन् । प्रदर्शनकारी ह्वामलाई पनि पब्लिक अर्डर एक्ट बमोजिम मुद्दा दायर हुने बताइएको छ ।
यदि उक्त मुद्दा प्रमाणित भएमा उनलाई ५ हजार सिंगापुर डलर जरिवाना हुनेछ ।
सिंगापुर प्रहरीले ह्वामलाई उनीमाथिको अभियोगका बारेमा जानकारी गराइसकिएको जनाएको छ ।
आफूमाथि लगाइएका अभियोगले मुलुकको अवस्था कति दर्दनाक छ भन्ने देखाएको ह्वामले जनाएका छन् । एकजना मानिस तस्वीरसहित केही सेकेण्डका लागि सार्वजनिक स्थानमा चुपचाप उभिँदा कसरी सार्वजनिक सुव्यवस्थामा खतरा पैदा हुन्छ ? भनेर उनले प्रश्न गरेका छन् ।
–एजेन्सी
प्रतिक्रिया 4