News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खानले ‘बिग बोस २०’ मा सामाजिक सञ्जालको ट्रोलिङ, बडी-सेमिङ र एज-सेमिङविरुद्ध बोल्दै उमेर बढ्नु स्वाभाविक भएको बताए।
- उनले आफूलाई ‘बूढो भयो’ भन्दै ट्रोल गरिएकामा टिप्पणी गर्दै मञ्चमै टोपी, ज्याकेट र टी-सर्ट खोलेर एब्स देखाए।
- सलमानले आफ्नो स्वास्थ्य ठीक रहेको स्पष्ट पार्दै प्रोमोको सम्पादनका कारण छाती दुखेको जस्तो देखिएको र त्यसका लागि माफी मागे।
मुम्बई । भारतीय टेलिभिजन शो ‘बिग बोस २०’को दोस्रो ‘विकेन्ड का वार’मा शनिबार अभिनेता सलमान खान सामाजिक सञ्जालमा हुने ट्रोलिङ, बडी-सेमिङ र एज-सेमिङविरुद्ध आक्रोशित भएका छन् । आफूलाई समेत ‘बूढो भयो’ भन्दै ट्रोल गरिएको उल्लेख गर्दै उनले उमेर बढ्नु स्वाभाविक भएको बताए ।
यस क्रममा सलमानले कार्यक्रमकै बीचमा टोपी, ज्याकेट र टी-सर्ट खोलेर आफ्नो एब्स देखाए । उनको यो टिप्पणी हालै कट्रिना कैफमाथि भएको ट्रोलिङपछि आएको हो ।
शनिबारको एपिसोडमा सलमानले प्रतियोगी स्काउटओपीले सामाजिक सञ्जाल र गेमिङ समुदायबारे दिएको अभिव्यक्तिको प्रसंग उठाएका थिए ।
उनले सामाजिक सञ्जाल अहिले ठूलो पेसाका रूपमा विकसित भइसकेको बताए । गेमिङ, कन्टेन्ट क्रिएसन, भिडियो एडिटिङलगायत सामाजिक सञ्जालसँग सम्बन्धित कामबाट ठूलो संख्यामा मानिसले रोजगारी र पहिचान पाइरहेको उल्लेख गर्दै उनले यही प्लेटफर्मको अर्को पाटो ट्रोलिङ भएको बताए ।
सलमानले कुनै व्यक्ति अगाडि बढिरहेका बेला उसलाई तल तान्ने प्रयास प्रायः आफू पछाडि परेकाहरूबाट हुने बताए ।
उनले जसलाई गाली गरिँदैछ, जसको शरीर र तौलमाथि टिप्पणी गरिँदैछ वा जसको लुक्सको मजाक उडाइँदैछ, त्यही व्यक्ति कुनै न कुनै रूपमा ट्रोल गर्ने व्यक्तिको कन्टेन्ट र आम्दानीको हिस्सा बनिरहेको बताए ।
सलमानले सामाजिक सञ्जालमा मानिसको शरीर, तौल, लुक्स, परिवार, मुस्कान, असफलता वा आमा बनेको विषयसम्मलाई लिएर टिप्पणी हुने गरेको बताए । उनले ‘नराम्रो देखिएकी छिन्’, ‘मोटी भइन्’ वा ‘बूढो भयो’ जस्ता टिप्पणी गरिने गरेको उल्लेख गरे ।
उनले ट्रोल गर्नेहरूमाथि प्रश्न गर्दै आफ्नो अनुहार वा शरीरप्रति नै असहज हुने र आफ्नै पहिचानसँग समस्या हुने व्यक्तिले सम्भवतः कहिल्यै नभेटेको अर्को व्यक्तिको शरीर र लुक्समाथि किन टिप्पणी गर्छ भनेर सोधे ।
सलमानले ट्रोल गर्ने व्यक्तिको परिवारमा पनि आमा, बुबा, दिदीबहिनी, श्रीमती, प्रेमिका, छोरी वा दाजुभाइ हुन सक्ने बताए । आफ्नै परिवारका सदस्यबारे त्यस्तै टिप्पणी गरिए आफूलाई कस्तो लाग्थ्यो भन्ने सोच्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो उमेर र लुक्सलाई लिएर हुने ट्रोलिङको चर्चा गर्दै सलमानले सामाजिक सञ्जालमा आफू बूढो भएको भन्दै निरन्तर लेखिने गरेको बताए ।
‘बूढो भयो, अफकोर्स ६० वर्षको भइसकेँ,’ उनले भने । उमेर बढ्नु स्वाभाविक भएको बताउँदै त्यसपछि उनले मञ्चमै टोपी, ज्याकेट र टी-सर्ट खोले ।
सलमानले महिलाको शरीरमाथि हुने अनलाइन टिप्पणीको पनि आलोचना गरे । कुनै महिला आमा बन्दा गर्भावस्थाका क्रममा तौल बढ्नु स्वाभाविक हुने भन्दै उनले आमा बनेपछि शरीरमा आएको परिवर्तनलाई लिएर किन ट्रोल गरिन्छ भनेर प्रश्न गरे ।
महिला पुनः काममा फर्किएपछि आफ्नो फिटनेसमा ध्यान दिन सक्ने भए पनि परिवारसँग कति समय बिताउने र आफ्नो शरीरबारे के गर्ने भन्ने निर्णय उनको निजी विषय भएको सलमानले बताए ।
उनले सामाजिक सञ्जाललाई पूर्ण रूपमा नकारात्मक नठानेको पनि स्पष्ट पारे । सामाजिक सञ्जालमा धेरै मानिसले राम्रो काम गरिरहेको उनको भनाइ थियो ।
सलमानले ट्रोलिङको खतरनाक पक्षबारे पनि चर्चा गरे । आफ्नो फ्यान क्लबलाई आफूबारे गलत कुरा लेख्ने केही व्यक्तिको पहिचान पत्ता लगाउन भने उनीहरूबारे धेरै निजी जानकारी बाहिर आउन सक्ने उनले बताए ।
उनले करिब ८-१० वर्षअघिको एउटा घटना पनि सुनाए । उनका अनुसार एक व्यक्तिले उनीबारे अत्यन्त आपत्तिजनक कुरा लेखिरहेका थिए । त्यसपछि साइबर सेलको सहयोगमा उक्त व्यक्तिको पहिचान र ठेगाना पत्ता लगाएर उनी घरसम्म पुगेका थिए ।
सलमानका अनुसार ती व्यक्तिका आमाबुबा शिक्षित थिए र परिवारमा अन्य सदस्य पनि थिए । उनले चाहेको अवस्थामा ती व्यक्तिको पहिचान र परिवारबारे जानकारी सार्वजनिक गर्न सक्ने बताएका थिए । त्यसपछि ती व्यक्तिले आफूसँग माफी मागेको सलमानले बताए ।
सलमानले सोहेल खान र वरुण धवनमाथि भएको ट्रोलिङबारे पनि चर्चा गरे ।
उनका अनुसार ट्रोलर्सले कलाकारलाई मात्र नभई अभिनेता, इन्फ्लुएन्सर र राजनीतिज्ञलाई समेत निशाना बनाउँछन् । कसैको काम मन नपरे काम राम्रो नलागेको वा फिल्म मन नपरेको सीधै भन्न सकिने उनले बताए । कुनै मन्त्रीको काममाथि पनि प्रश्न उठाउन सकिने तर त्यसका लागि गाली गर्न आवश्यक नभएको उनको भनाइ थियो ।
सलमानले आफू पनि ट्रोलिङको सिकार हुने गरेको बताए । कहिलेकाहीँ कपाल वा लुक्सका आधारमा आफूलाई टकला भएको भनिने गरेको तर त्यो कुनै फिल्मको लुक्सको हिस्सा पनि हुन सक्ने उनले बताए ।
आलोचनालाई आफ्नो फाइदामा प्रयोग गर्ने प्रयास गर्ने बताउँदै उनले प्रशंसा हुँदा अझ राम्रो गर्ने र आलोचना हुँदा त्यसलाई गलत साबित गर्ने प्रयास गर्ने बताए ।
तर सबै मानिस उस्तै नहुने उनको भनाइ थियो । लगातार झुटा र अपमानजनक टिप्पणीका कारण कतिपय मानिस डिप्रेसनमा जाने गरेको पनि उनले बताए ।
सलमानले फिल्म उद्योगका धेरै व्यक्ति देशमा चलिरहेका राजनीतिक विषयमा आफ्नो धारणा दिन नचाहने पनि बताए । त्यो उनीहरूको व्यक्तिगत निर्णय भएको उनको भनाइ थियो ।
देशमा भइरहेका घटनाको राजनीतिक पक्षबारे केही मानिसले टिप्पणी गर्न नचाहने उल्लेख गर्दै उनले भने, ‘गर्न मन छैन, हाम्रो इच्छा हो । हामीलाई यसबारे जानकारी छैन, हामी यसमा पर्न चाहँदैनौँ र किन पर्ने ? कुनै पत्रकारले हामीलाई प्रश्न सोधेर त्यसलाई आफ्नो सामाजिक सञ्जाल वा टेलिभिजनमा चलाएर टीआरपी हासिल गर्न ?’
उनले आफूहरू त्यसको हिस्सा बन्न नचाहने र सत्य के हो भन्ने पत्ता लगाउनु पत्रकारको काम भएको बताए । पत्रकारले सत्य पत्ता लगाएर आफूहरूलाई जानकारी दिनुपर्ने तर हरेक विषयमा आफ्नो धारणा वा टिप्पणी लिन आवश्यक नभएको उनको भनाइ थियो ।
फिल्मबारे हुने आलोचनाको प्रसंगमा सलमानले भने, ‘तपाईंलाई फिल्म हेर्न मन छैन भने नहेर्नुस् । अहिले नयाँ कुरा आएको छ, हाम्रो कारणले तिमी बनेका हौ भन्ने । हामी फ्यानलाई सम्मान गर्छौँ, यसको अर्थ हामीसँग यस्तो व्यवहार गर्ने हो ? तपाईंले फिल्म हेर्न टिकट किन्नुभएको हो, हामीलाई किन्नुभएको होइन । तपाईंलाई फिल्ममा रमाइलो होस् भनेर हामी आफ्नोतर्फबाट पूरा प्रयास गर्छौँ ।’
यसैबीच, ‘बिग बोस २०’को ‘विकेन्ड का वार’को एपिसोडको प्रोमो सार्वजनिक भएपछि सलमानको स्वास्थ्यलाई लिएर दर्शक चिन्तित भएका थिए । प्रोमोमा उनी छाती समातेर दुखाइ भएको जस्तो अवस्थामा देखिएका थिए । त्यसपछि उनलाई स्वास्थ्यसम्बन्धी समस्या भएको आशंका गरिएको थियो ।
तर राति सलमानले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक रहेको स्पष्ट पारे ।
प्रोमो जसरी सम्पादन गरिएको थियो, त्यसले दृश्यको अर्थ नै परिवर्तन भएको उनले बताए । उनका अनुसार प्रोमो हेर्दा आफूले पनि प्रतियोगी काजीले गरेकै जस्तो व्यवहार गरिरहेको देखिएको थियो ।
काजी तौकीरले एउटा टास्कपछि स्वास्थ्य खराब भएको नाटक गरेका थिए । उनले औषधिका लागि ठूलो स्वरमा माग गरेपछि घरका अन्य प्रतियोगी चिन्तित भएका थिए । पछि मेडिकल रुममा उनले डाक्टरलाई आफूलाई केही नभएको र खेलअन्तर्गत त्यसो गरेको बताएका थिए ।
सलमानका अनुसार आफूले छाती दुखेको अभिनय गर्नुको उद्देश्य बिरामी भएको नाटक गर्नु गलत हो भन्ने कुरा काजीलाई बुझाउनु थियो । घरका १५ प्रतियोगी काजीको अभिनयबारे अनभिज्ञ रहेको र उनको स्वास्थ्यलाई लिएर चिन्तित बनेको सलमानले बताए । उनले प्रोमोको सम्पादनका लागि माफी माग्दै आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक रहेको स्पष्ट पारे ।
प्रतिक्रिया 4