+
+
Shares

कलैयामा २५ करोडको लागतमा पार्टी प्यालेस सञ्चालनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १७:२२

९ मंसिर, वीरगञ्ज । बाराको कलैया क्रिकेटको उर्वर भूमि हो । कलैयाका ४० वर्षीय मणिलाल सर्राफ सानैदेखि क्रिकेट खेल्थे । अध्ययनसँगै क्रिकेटका जिल्ला स्तरीय प्रतियोगितामा उनले भाग लिए । जिल्लामा आयोजना हुने क्रिकेट लगायत अन्य खेलकुद प्रतियोगितालाई नजिकैबाट नियाल्ने मौका पाए ।

खेलकुद प्रतियोगितामा सहभागी हुन बाहिरबाट आएका खेलाडीलाई वीरगञ्जमा राख्नुपर्ने बाध्यता थियो । उनलाई नरमाइलो लाग्थ्यो । पछिल्लो समयमा होटल तथा पार्टी प्यालेसमा छोराछोरीको विवाह गर्ने प्रचलन बढ्दै गएको छ । त्यसका लागि पनि बाहिरै जानुपर्ने बाध्यता ।
कलैयाका मानिसहरु वीरगञ्ज, हेटौंडा र नारायणगढतिर गएर छोराछोरीको विवाह गराइरहेको उनले देखे । कलैयाको व्यवसायीको नाताले यसलाई रोक्नका लागि केही गरौं भन्ने भावना उनको मनमा थियो ।

पुर्ख्यौली पेशा सुनचाँदी व्यवसायसँगै उनले ७ वर्ष अघि जग्गाको कारोबार गर्न थाले । कलैयाकै पर्सा गाउँमा जमिन प्लटिङ गरेर ‘पर्सा सिटी कोलोनी’ बनाए । जग्गा बेचे । बेचेर बाँकी रहेको २५ कठ्ठा जमिनमा होटल व्यवसाय सञ्चालन गर्ने सोच बनाए । तीन वर्षदेखि उनी कलैयामा सुविधा सम्पन्न होटल तथा पार्टी प्यालेसको अभाव टार्न लागि परेका छन् ।

मंसिर १२ गते उद्घाटन गर्ने तयारी गरिएको करणराज पार्टी प्यालेस निर्माणको अन्तिम चरणमा छ । केही छिटपुट निर्माणको काम र सरसफाइ गर्न बाँकी छ । यो सञ्चालनमा आएसँगै कलैयाको दोस्रो सुविधासम्पन्न पार्टी प्यालेस हुनेछ ।

एक वर्षदेखि नेपाली सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल किरण विक्रम शाहको ‘बरेवा दरबार होटल एन्ड बेंक्युट’ सञ्चालनमा छ ।

पार्टी प्यालेसमा जमिन सहित २५ करोड लगानी भएको मणिलालले बताए । ‘ लकडाउनले गर्दा तयार हुन बढी समय लाग्यो, १० करोडको त भवन नै छ, जमिन सहित २५ करोडको हाराहारीमा लगानी पुग्छ,’ उनले भने, ‘कलैयामा सुविधा सम्पन्न पार्टी प्यालेस नहुँदा वीरगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो । कलैया र आसपासका क्षेत्रका मानिसहरुले विवाह, समारोह, वर्थडे पार्टी, वैवाहिक वर्षगाँठ यहि मनाउन सक्छन् ।’

प्यालेसमा नर्मल र डिलक्स गरी २० वटा कोठा छन् । ३ सय जनाका दरले मानिस अट्न सक्ने तीन वटा हल छन् ।

२५ कठ्ठा जमिन मध्ये आधा भागमा होटल तथा पार्टी प्यालेसको भवन, पार्किङ र खाली ठाउँ छोडिएको छ । पछाडितिरको आधा भागमा जीम क्लब, स्पोट्र्स सेन्टर, बगैँचा, स्वीमिङ पुल बनाउने योजना रहेको सर्राफले बताए ।

‘पहिले तयार भईसकेका संचरना उपयोग गर्दै जाउँ, पछि थप सेवा सुविधा दिँदै जाउँ भन्ने सोचले अघि बढेका छौं,’ उनले भने, ‘कलैयामा आएका पाहुनालाई निराश भएर फर्कन दिँदैनौं ।’
उद्घाटन लगत्तै सेवा सञ्चालन गर्नेगरि आवश्यक बन्दोबस्त मिलाईसकिएको छ । मंसिर महिना विवाहको लघन हुने महिना हो ।

सञ्चालनमा आउनु अघि नै विवाहका लागि होटल बुकिङ भइसकेको सञ्चालक सर्राफले सुनाए । ‘मंसिर १५ गते पहिलो बुकिङ छ । त्यसपछि मंसिर १७, २१, २४, २६ र २९ गते विवाहका लागि बुकिङ भइसकेको छ,’ उनले भने, ‘विस्तारै अन्य सुविधा थप्दै जाँदा व्यवसायले गति लिन्छ भन्ने विश्वास छ ।’

भारतको बिहारबाट समेत विवाहका लागि सेवाग्राही आउने अपेक्षा उनले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?