Comments Add Comment

सुदूरपश्चिममा पहिलो चौमासिकमा ६ प्रतिशत बजेट खर्च

१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो ।

चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत आर्थिक वर्षम भन्दा खर्च बढेको बताए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ४.५३ प्रतिशत मात्रै खर्च भएको थियो ।

यस आर्थिक वर्षमा चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६.६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५.९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५.४० प्रतिशत र पुँजीगततर्फ ३.५२ प्रतिशत मात्रै खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन् । पहिलो चौमासिकमा प्रदेश सरकारको बजेट खर्चसमेत सन्तोषजनक रहेको उनले बताए ।

‘पर्याप्त कर्मचारी नहुँदा पनि हामीले यस वर्ष बजेट खर्च बढाएका छौँ’ मन्त्री बोहराले भने ‘अर्काे चौमासिकमा ४० प्रतिशत र आर्थिक वर्ष अन्यसम्म ९० प्रतिशत बजेट खर्च हुन्छ ।’

राजश्व सङ्कलनमा पनि वृद्धि

प्रदेश सरकारले पहिलो चौमासिकमा ३१ करोड ९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमै ४५.९३ प्रतिशत राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो चौमासिकमा राजस्व लक्ष्यको ३२.१२ प्रतिशत मात्रै सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment