Comments Add Comment

एक हजार रुपैयाँ कर संकलन गर्न ३ रुपैयाँ ६२ पैसा खर्च

१० मंसिर, काठमाडौं । सरकारले आन्तरिक राजस्व संकलन गर्न प्रतिहजार रुपैयाँका लागि साढे तीन रुपैयाँ खर्च गर्ने गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार आन्तरिक राजस्वतर्फ एक हजार रुपैयाँ संकलन गर्दा रु. ३.६३ पैसा लाग्ने गरेको हो ।

सरकारले विभागमार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३ खर्ब ८४ अर्ब ५३ करोड राजस्व संकलन गरेको छ । यस आवमा विभाग तथा मातहतको चालु र पूँजीगत खर्च भने १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ रहेको छ । यस अनुसार विभागले एक हजार रुपैयाँ राजस्व संकलनका लागि कुल ३ रुपैयाँ ६२ पैसा खर्च गरेको देखिएको छ ।

त्यसो त राजस्व संकलन लागत अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा भने केही सुधार भएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारले ३ खर्ब ५८ अर्ब ३५ करोड आन्तरिक राजस्व संकलन गरेको थियो ।

त्यसक्रममा आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खर्च गरेका थिए । यसअनुसार प्रतिहजार रुपैयाँ संकलनका लागि ४.२१ रुपैयाँ खर्च भएको थियो ।

यस्तो छ प्रतिहजार राजस्व संकलन लागत

विषय आव २०७५/७६ आव २०७६/७७
कुल राजस्व संकलन रू. ३५८ अर्ब ३५ करोड रू. ३८४ अर्ब ५३ करोड
विभाग तथा कार्यालयबाट भएको कुल खर्च १ अर्ब ५० करोड ९६ लाख १ अर्ब ३९ करोड ३४ लाख
प्रतिहजार संकलन लागत रू. ४.२१ पैसा रू. ३.६२ पैसा

स्रोत: आन्तरिक राजस्व विभाग

किन घट्यो संकलन लागत ?

आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व विभागका लागि चालुतर्फ कुल ६३ करोड ६७ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्म विभागले मात्र १५ करोड ८६ लाख ८ हजार अर्थातः लक्ष्यको २४.९२ प्रतिशत मात्र प्रगति प्राप्त गर्न सफल भयो ।

पूँजीगततर्फ विभागलाई १७ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । खर्च भने मात्र ५ करोड २८ लाख ८८ हजार अर्थातः लक्ष्यको मात्र २९.७३ प्रतिशत भएको छ ।

यता विभाग मातहतका आन्तरिक राजस्व कार्यालयका लागि उक्त आवमा चालुतर्फ कुल १ अर्ब २८ करोड ६३ हजार रुपैयाँ विनियोजन भएको थियो । तर, वर्षको अन्त्यसम्म मात्र १ अर्ब २ करोड ३५ लाख अर्थातः लक्ष्यको ७९.६३ प्रतिशत मात्र खर्च  भएको छ ।

आन्तरिक राजस्व कार्यालयहरुलाई पूँजीगततर्फ ३८ करोड ६६ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये मात्र १५ करोड ८४ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ४०.९७ प्रतिशत हो ।

यसप्रकार कुल लक्ष्यको तुलनामा विभाग र मातहतका कार्यालयबाट बजेट खर्च औसतः ५० प्रतिशत हाराहारी मात्र भएको छ । जसले गर्दा राजस्व संकलन लागत घटेको देखिएको हो ।

पूँजिगततर्फको ठूलो रकम खर्च गर्ने समयमा कोरोना भाइरसको संक्रमण र यसले बजारमा अवरोध सिर्जना गरेको थियो ।

चालुतर्फसमेत सरकारले आर्थिक वर्षको अन्त्यमा सभा सम्मेलन, कार्यक्रम, फर्निचर, मेसिनरी सामानको खरीदमा कडाई गरेका कारण बजेट खर्च प्रभावित भएको थियो ।

 संकलन लक्ष्यको ७६ प्रतिशत मात्र

त्यसो त आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व संकलन लक्ष्यको ७५.९७ प्रतिशत मात्र संकलन भएको थियो । अघिल्लो आवमा सरकारले आन्तरिक राजस्व विभागलाई ५ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।

असुली भने उक्त आवमा ३ खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ मात्र हुन पुग्यो । कुल आन्तरिक राजस्व संकलन आर्थिक वर्ष २०७५/७६ को तुलनामा भने ७ प्रतिशतले वृद्धि भएको थियो ।

कोभिड १९ का कारण पूर्णरुपमा देशव्यापी बन्दाबन्दी लागेको र यसले आर्थिक क्रियाकलापमा सुस्तता आएका कारण लक्ष्यअनुसार राजस्व संकलनको काम प्रभावित भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment