Comments Add Comment

सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी

१० मङ्सिर, कैलाली । चुरे गाउँपालिका–४ का लक्ष्मण साउदले धनगढी–खुटिया–दिपायल–चैनपुर हुँदै उरै भन्ज्याङ पुग्ने फास्ट ट्रयाक सडक निर्माणको चर्चा सुन्न थालेको बर्षाै भइसक्यो ।

फास्ट ट्रयाकका रूपमा सङ्घीय सरकारले अघि बढाएको सडकको काम भने निकै सुस्त गतिमा भइरहेको छ । ४ वर्षसम्म सडकको ट्रयाक खोल्ने काम पनि पूरा भएको छैन ।

खोलिएको ट्र्याकमा ठूला–ठूला ढुङ्गा र ठाउँ–ठाउँमा परेका खाल्डाहरू देखाउँदै उनले भने, ‘यो सडक कालोपत्रे होला र हामीले चिल्लोबाटोमा गाडी कुदाउन पाइएला भन्ने पनि आशा घट्दै गएको छ ।’

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सङ्घीय सरकारले २०७३/०७४ मा धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडकलाई फास्ट ट्रयाकका रूपमा अघि बढाएको हो । तर त्यसको अर्काे वर्ष उक्त सडक निर्माणको जिम्मा सुदूरपश्चिम प्रदेश सरकारले लियो ।

प्रदेश सरकारले बनाउन नसक्ने भएपछि यो सडक निर्माणको जिम्मा पुनः सङ्घीय सरकारकै जिम्मेवारीमा परेको छ ।

धनगढीदेखि तत्कालीन क्षेत्रीय सदरमुकाम दिपायलसम्म पुग्न अहिले प्रयोग हुँदै आएको सडकको दुरी करिब १९५ किलोमिटर लामो छ । तर, दिपायलदेखि फास्ट ट्र्याकमार्फत बझाङको उरै भञ्ज्याङसम्म जोड्ने यो सडक जम्मा ९० किलोमिटरको हुन्छ । तर सडक बेलामा नबन्दा स्थानीयले असुविधा भोग्नुपरिरहेको छ ।

फाष्ट ट्रयाक आयोजना कार्यालय प्रमुख खगेन्द्र शाहीले कोरोना महामारीका कारण कामले गति नलिएको भन्दै अब तीब्र रुपमा अघि बढ्ने जिकिर गरे ।

उनका अनुसार कैलालीमा ८ किलोमिटर र डोटीमा २ किलोमिटर गरी झन्डै १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । यो सडकका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

‘यो वर्ष ट्रयाक खोलेर कच्ची सडक जोडिने छ । त्यही अनुरूप अब निर्माण कम्पनीले पनि यो महिनादेखि कामको थालनी गर्ने छ’ शाहीले भने ।

यसै वर्ष उक्त सडकको २० किलोमिटर कालोपत्रे गर्ने तयारी रहेको पनि उनले बताए । ‘धनगढीदेखि हाट खोलीसम्मको सडक कालोपत्रेको लागि तयार छ हामीले यसका लागि ५० करोड रुपैयाँ बजेट माग गरेका छौँ’ उनले भने ‘बजेट प्राप्त भए काम अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment