+
+

यो वर्ष जाडो कम हुने, पानी पनि कम पर्ने आँकलन

विनोद घिमिरे विनोद घिमिरे
२०७७ मंसिर ११ गते ११:५०

११ मंसिर, काठमाडौं । यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरुले गरेका छन् । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना)मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘समग्रमा भन्नुपर्दा सरदरभन्दा रेनफल अलि कम हुने र टेम्प्रेचर अलि बढी हुने हाम्रो आँकलन छ । यद्यपि यसको अन्तिम निचोड भने हामीले निकालिसकेका छैनौं ।’

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्ने ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’को भर्चुअल बैठक यही मंसिर ८ गते (गत सोमबार) बसेको थियो । सो बैठकमा यो वर्षको जाडोयाम कस्तो होला भन्ने विषयमा मौसमविदहरुले आ-आफ्नो विश्लेषण सुनाएका थिए । सो बैठकको अन्तिम निचोड भने सार्वजनिक भइसकेको छैन । फोरमले निकालेको निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले मौसमी अवस्थाबारे जानकारी दिन बुलेटिन जारी गर्छ । त्यस्तो बुलेटिन एक-दुई दिनभित्रै सार्वजनिक गर्ने जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. कँडेल बताउँछिन् ।

मौसमविदहरुले मौसमी अवस्थाको तुलना गत वर्षसँग गर्दैनन् । ३० वर्ष अवधिको औसत मौसमी अवस्थाको आधारमा तुलना गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । एउटा वर्ष र अर्को वर्षको मौसमी अवस्था फरक-फरक हुनुलाई मौसमविदहरुले स्वाभाविक मान्छन् । त्यसैले गत वर्ष र यो वर्षको मौसमी अवस्था तुलना गरेर निष्कर्ष निकालिँदैन । ३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।

यद्यपि अघिल्लो पटकको यही अवधिको तुलनामा यस वर्ष छिट्टै जाडो बढेको महसुस गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी डा. कँडेलले अनलाइनखबरसँग भनिन्, ‘अहिले ३० वर्षअघिको सरदर मौसमी अवस्थालाई हेर्ने हो भने अधिकतम तापक्रम तीन-चार दिनदेखि घट्न थालेको छ । न्यूनतम तापक्रम भने करिब १०-१५ दिनदेखि नै घटिरहेको छ । त्यसैले बिहानको समयमा जाडो बढेको महसुस भइरहेको छ ।’

नेपालमा ३० वर्षको सरदर तापक्रम हेर्दा कुनै-कुनै स्थानमा न्युनतम तापक्रम औसतभन्दा माइनस ४ डिग्री सेल्सियससम्म पुगेको र काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम माइनस ३ डिग्री हाराहारी पुगेको पाइएको छ ।

न्यूनतम तापक्रम भनेको गत २४ घण्टा अवधिको सबैभन्दा कम र अधिकतम तापक्रम भनेको गत २४ घण्टा अवधिको सबैभन्दा बढी तापक्रम हो । न्युनतम तापक्रम प्रायजसो बिहान (५-७ बजेतिर) र अधिकतम तापक्रम अपराह्न (३-५ बजेतिर) रेकर्ड गर्ने नेपालको प्रचलन छ । नेपालको सन्दर्भमा सामान्यरुपमा बुझ्नुपर्दा न्यूनतम बिहानको तापक्रम र अधिकतम दिउँसोको तापक्रम हो ।

खासगरी मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल नलागेर घाम लाग्यो भने वा हुस्सु/शीतलहरका कारण न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ ।

आम मानिसहरुलाई गत वर्षभन्दा यो वर्ष मौसमी अवस्था कस्तो होला भन्ने चासो हुन्छ । त्यसैले जल तथा मौसम विज्ञान विभागले समग्र सिजन कस्तो हुन्छ भनेर विश्लेषण गरी जानकारी दिन्छ । आजको मौसम कस्तो होला भनेर चासो राख्नेहरुका लागि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन-तीन दिनको मौसमी अवस्थाबारे हरेक दिन जानकारी दिने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल बागमती, गण्डकी, कणर्ाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ ।

आगामी चौबीस घण्टामा प्रदेश नं. १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई क्षेत्रमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?