Comments Add Comment

बर्दिबास घटनाका दोषीलाई कारबाही गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा मंसिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या र त्यसको विरोधमा भएको प्रदर्शनमा गोली चलाउने घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

बालिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमाथि प्रहरीले गोली चलाउनु राज्य आतंक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

‘पीडितलाई न्याय दिनुको सट्टा न्याय माग्ने जनतामाथि नै गोली बर्साएर ठूलो अपराध गरिएको छ । बालिकाको हत्यारा तथा जनतामाथि गोली चलाउने र गोली चलाउन आदेश दिने अधिकारीमाथि छानविन गरी कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं’ उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्तिमार्फत भनेकी छन् ।

बालिका गुलाब खातुनको हत्या आरोपी अरुण शाह केही महिना पहिले आफ्नै साथीको हत्या अभियोगमा पक्राउ परी अदालतबाट धरौटीमा छुटेका थिए । हत्याजस्तो गम्भीर अपराधमा सामेल व्यक्तिलाई धरौटीमा रिहाइ गरिनु न्यायाधीशको गम्भीर लापरवाही हो भन्ने कुरा पुष्टि भएको पनि पौडेलले बताएकी छन् ।

‘न्यायालयसमेत हत्यारालाई कारवाही गर्ने कुरामा गम्भीर नदेखिनुले न्यायको अवस्था धेरै नाजुक भएको देखिन्छ । यो निकै ठूलो चिन्ताको विषय हो’ उनले विज्ञप्तिमा भनेकी छन् ।

देशभर भइरहेका बलात्कार, हत्याजस्ता घटनामा छिटो भन्दा छिटो गम्भीर कदम चाल्न र पीडितलाई न्याय प्रदान गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment