Comments Add Comment

‘अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्’

छोरी गुलाबको हत्या भएपछि अर्ध मुर्छित् अवस्थामा सबिना खातुन ।

११ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बर्दिवास खण्डबाट करिब पाँच सय मिटर दक्षिणतर्फ छ, गुलाब साह खातुनको घर । ६ वर्षीया गुलाब बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घरमा ७ मंसिर बिहानसम्म हाँसी खुसी आँगनमा खेलिरहेकी थिइन् ।

त्यसदिन पनि गुलाब कहिले अम्मा चकलेट किन्दिनु त कहिले बिस्कुट किन्दिनु भन्दै खेलीरहेकी थिइन् । दिउँसो एकाएक गुलाबको खोजी भयो तर भेटिएन ।

निकै खोजी गरेपछि भेटिन् त भेटिइन् तर उनी चकलेट र बिस्कुट खान सक्ने अवस्थामा थिइनन् । उनलाई अपराधीले कहिले बोल्न नसक्ने, आँगनमा खेल्न नसक्ने अवस्थामा पुर्‍याइसकेको थियो ।

‘चकलेट किनेर घर आएकी थिइन्, फेरि खेल्न बाहिर कुदिन् र कहिल्यै फर्किनन्’ आँखा भरी आँसु पार्दै गुलाबकी फुपु आरफा खातुनले भनिन् ।

त्यो कालो दिनयता गुलाबको घरमा चुलो बलेको छैन । परिवारका कसैले खाना खाएका छैनन् । परिवारका सदस्यको कानमा गुलाबको बोली गुञ्जिरहेको छ ।

आमा सबिना खातुन अर्ध–मुर्छित छिन् । छोरी हराएको दिनदेखि उनको मुखमा अन्न परेको छैन । छिनछिनमा बेहोस जस्तै बन्छिन् । लाग्छ, आमाको आँखाको आँसु नै रित्तिइसकेको छ ।

बाबु–आमाकी जेठी सन्तान थिइन्, गुलाब । नाम जस्तै सुन्दर र प्रिय गुलाब । तर अपराधीले गुलाबलाई फक्रिनै दिएन ।

गत आइतबार बेपत्ता गुलाबको शव बोरामा भेटिएपछि उनको परिवार, आफन्त मात्रै होइन सिंगो देश नै शोकमग्न छ ।

गुलाबका बुबा सहिद आलम मुर्छित श्रीमतीलाई घरमै छाडेर न्यायका लागि हारगुहार गरिरहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईं गुलाबको हत्या गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहले गरेको बताउँछन् । बर्दिवास–१४ स्थित किराना पसलमा चकलेट किन्न गएकी गुलाबलाई साहले हत्या गरेर बोरामा शव लुकाएको डीएसपी चापागाई बताउँछन् । गुलाबको मृत शरीर साहको घर नजिकै भेटिएको थियो ।

‘गुलाबको खोजतलास गर्ने क्रममा आइतबार साँझ हामी उसको घरभित्र जान खोजेका थियौं,’ फुपु आरफा भन्छिन्, ‘त्यहाँ खटिएका दुईजना प्रहरीले खोजतलास गर्न दिएन ।’

गुलाबको हत्यारालाई फाँसी दिनुपर्ने आवाज उठेको छ । गत जेठमा आफ्नै साथीको हत्या गरेको स्वीकारी बयान दिँदा पनि आरोपी साहलाई अदालतले धरौटीमा छोडेको थियो ।

‘हत्यारालाई अदालतले त्यसरी नछोडेको भए गुलाव बाँच्ने थिइन्, अब हत्यारा कुनै हालतमा जोगिनु हुन्न’ गुलाबकी फुपु आरफाले आँसु पुछ्दै भनिन् ।

यो आपराधिक घट्नाको सिलसिला यतिमै रोकिदैन । विगतमा हत्या गर्दा पनि उन्मुक्ति पाएका अपराधीलाई कारबाहीको माग गर्दै जनता आक्रोशित भए । गुलाबको हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर बुद्धिराज (संजय) न्यौपानेको ज्यान गयो ।

यो पनि पढ्नुहोस ‘भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन’

कात्तिकदेखि किराना पसल सुरू गरेका उनी पसलको खाद्यन्न सकिएपछि बर्दिबास चोकमा निस्किएका थिए । ‘पसलको सामान किन चोकमा निस्किएको मेरो छोरो कहिल्यै फर्किएर आएनन्’ उनकी आमा अम्बिकादेवीले रुँदै भनिन् ।

प्रहरीको गोलीले संजयका दुईछोरी र एक छोरालाई टुहुरा बनाएको छ । अम्बिकादेवी भन्छिन्, ‘मेरो नातीनातिनालाई कसले पढाउँला ?’

आफ्नो छोरालाई गोली हान्नेलाई कारवाही गर्नुपर्ने उनको माग छ । ‘जे नहुनु भैसक्यो, मेरो संजयको जस्तो कसैको मृत्यु नहोस्, अब आन्दोलनमा कसैको छोरा नमरोस्’ संजयकी आमाले आँसु पुछ्दै भनिन् ।

यो पनि पढ्नुहोस चकलेट किन्न पसल गएकी बालिकाको हत्या

–बिक्रम रौयिनारको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment