Comments Add Comment
प्रधानमन्त्री ओलीको बटमलाइन :

अहिल्यै हट्दिनँ, अन्तरिम कमिटीमा बहुमत देखाउन मिल्दैन

'प्रचण्डको कथित प्रस्ताव खारेज गरौं, यथाशीघ्र एकता महाधिवेशन गरौँ'

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठ लामो डकुमेन्टको अन्त्यमा पार्टीभित्रको समस्या समाधान कसरी गर्ने भन्ने बाटो बताएका छन् ।

केपी ओली नै मुलुकको कार्यकारी प्रमुख रहेको र पार्टीको प्रथम अध्यक्षसमेत भएकाले समस्या समाधानको प्रस्ताव पनि उनैले ल्याउनुपर्ने सो पार्टीका नेताहरुले बताउँदै आएका थिए ।

यसै सन्दर्भमा शनिबार सचिवालय बैठकमा पेश गरेको डकुमेन्टमा सचिवालयले अब के गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले आफ्नो मत राखेका हुन् ।

‘गम्भीर आत्मसमीक्षा गरौं कमरेडहरु, र जनचाहना अनुरुप अगाडि बढौँ’ भन्दै प्रधानमन्त्री ओलीले आफूले नयाँ जनप्रतिनिधिहरुलाई सरकार हस्तान्तरण गर्न चाहेको बताउँदै अर्को निर्वाचनसम्म सरकारको नेतृत्व गर्ने जनाऊ दिएका छन् ।

त्यसैगरी आगामी महाधिवशेनअघि बहुमत देखाएर आफूलाई अध्यक्ष पदबाट हटाउन नमिल्ने ओलीको तर्क छ । महाधिवेशनबाट भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ईच्छुक रहेको र प्रचण्ड पनि त्यसो गर्न तयार हुनुपर्ने ओलीको भनाइ छ ।

‘अन्तरिम कमिटीको बहुमतले हटाउन मिल्दैन’

प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीतर्फ लक्षित गर्दै पार्टी एकतापछि बनेका यी अन्तरिम कमिटीहरुको प्रयोजन बहुमतको खेलमा लाग्ने नभई महाधिवेशनका लागि मात्रै भएको बताएका छन् ।

प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न बहानामा हस्ताक्षर संकलन गरिरहेको गुनासो गरेका ओलीले प्रचण्डलाई लेखेको पत्रमा भनेका छन्, ‘मेरो आग्रह छ, कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीको प्रस्ताव : प्रचण्डको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

अहिलेका कमिटीहरुको प्रयोजन अधिवेशन गराउने मात्रै रहेको बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन् । …. एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका सबै समस्याको समाधानका लागि चाँडो महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा सहभागी नेताहरुलाई अध्ययनका लागि दिइएको ३८ पृष्ठको डकुमेन्टमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या समाधानको सूत्र बताउँदै भनेका छन्, ‘विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ । सबै कमरेडहरुलाई यस अभियानमा साथ र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’

आफूलाई अन्तरिम कमिटीहरुको बहुमतले हटाउन नमिल्ने बताएका प्रधानमन्त्री ओलीले महाधिवशेनपछि अध्यक्ष छाड्ने र अर्को चुनावपछि प्रधानमन्त्री नबन्ने प्रतिवद्धता जनाएका छन् ।

नेकपा अध्यक्ष ओलीको भनाइ छ, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिकरुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ?’

पार्टी र सरकार दुबैको नेतृत्व हस्तान्तरणबारे प्रधानमन्त्री ओलीको बटमलाई यस्तो छ-

‘नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर अवकास लिने मेरो इच्छा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटोमा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेर विदा हुने मेरो इच्छा छ ।’

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव छ- ‘मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउनुभएका आरोपहरुको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment